जुम्लामा सुपथ मूल्य पसलबाट ७ सय क्विन्टल चामल बिक्री

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भन्छ- 'यो पटक चामल अभाव हुँदैन, ढुक्कसँग किने पुग्छ ।’

आश्विन १५, २०८२

डीबी बुढा

Sale of 700 quintals of rice from reasonable price shops in Jumla

जुम्ला — बजारको महँगो चामल किनेर हैरानी खेपिरहेका जुम्लावासीले यसपालि दसैंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले खोलेको सुपथ मुल्यको पसलबाट सस्तो चामल खरिद गरे ।

गत भदौ ३० गतेदेखि खोलिएको सुपथ मूल्य पसलबाट झन्डै ७ सय क्विन्टल चामल बिक्री भएको तथ्यांक खाद्य व्यवस्था कार्यालयसँग छ । 'आगामी कात्तिक १० गतेसम्मका लागि खोलिएको सुपथ मुल्य पसलमा एक हजार एक सय क्विन्टल चामल बेच्ने लक्ष्य थियो,' कार्यालयका सूचना अधिकारी श्रीराम ठाकुरले भने, ‘दुई साताको अवधिमा सात सय क्विन्टल चामल गइसकेको छ ।’

उनका अनुसार जिल्लाको गुठीचौर, पातारासी, तातोपानी र चन्दननाथ नगरपालिकाभित्रका स्थानीयले सबैभन्दा बढी चामल किनेका छन । सिंजा, कनकासुन्दरी, तिला र हिमा गाउँपालिकाबाट पनि फाट्टफुट्ट चामल लिइरहेको तथ्यांक खाद्य व्यवस्था कार्यालयले राखेको छ । 

'दैनिक अधिकतम ९० क्विन्टलसम्म चामल बिक्री भइरहेको छ,' सूचना अधिकारी ठाकुरले भने, ‘बजारको भन्दा सस्तो र गुणस्तरको चामल बेचिरहेकोले उपभोक्ताको आकर्षण बढेको छ ।’

Sale of 700 quintals of rice from reasonable price shops in Jumla

चन्दननाथ-८ की उमादेवी थापाले सस्तो मूल्यको चामल आएदेखि बजारको महँगो चामल नकिनेको बताइन् । उनले भनिन्, ‘यो चामल मसिनो पनि छ । स्वादिलो र सस्तो पनि । सहजै रुपमा उपलब्ध हुने भएकाले लिन आएको ।’ उनले यो सुपथ मूल्यको चामल दसैं तिहारसम्म मात्रै नभएर बाह्रै महिना चलेको भए गरिबलाई राहत मिल्ने बताइन् ।

यो वर्ष जुम्लाका लागि ५ हजार क्विन्टल चामलको कोटा तोकिएको छ । जसमध्ये दुई हजार ५ सय क्विन्टल चामल आइपुगेको छ । अरु चामल निरन्तर आउने क्रममा रहेको छ । 'यो पटक चामल अभाव हुँदैन,' सूचना अधिकारी ठाकुरले भने, ‘उपभोक्ताले ढुक्कसँग चामल किने पुग्छ ।’ विपदको लागि मात्रै ५ सय क्विन्टल चामल छुट्याइएको छ ।

खाद्य व्यवस्था कार्यालयमा यसअघि बिक्री भइरहेको मूल्यमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको छ । अरुवा मोटा चामल प्रतिबोरा २५ किलोको १ हजार ४ सय २५ रुपैयाँ, एफआर अरुवा मोटा १ हजार ४ सय २५ रुपैयाँ, अरुवा मध्यम चामल १ हजार ५ सय, एफआर अरुवा सोना मन्सुली १ हजार ५ सय, स्टिम जिरा मसिनो चामल २ हजार १ सय २५ रुपैयाँ र एफआर स्टिम जिरा मसिनो चामल २ हजार १ सय २५ रुपैयाँमा बिक्री भइरहेको छ ।

चामलका बोरा २५ किलोका छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully