जुम्लामा घोडा दौड प्रतियोगिता [तस्बिरहरु]

यसपालि गुठिचौर गाउँपालिकाको गुठिचौर पाटन र खलंगाको राजासिममा एकैसाथ घोडा दौड प्रतियोगिता आयोजना गरिएको हो ।

आश्विन १४, २०८२

डीबी बुढा

Jumla Horse Racing Competition [Photos]

जुम्ला — जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित राजासिम मैदानमा हरेक वर्षको दसैंको फूलपातीमा घोडा दौड प्रतियोगिता आयोजना हुने गरेको छ । घोडापालक किसानको हौसला र जुम्ली घोडाको संरक्षणका लागि बर्सेनि घोडा दौड आयोजना गर्ने गरेको हो ।

यो पटक गुठिचौर गाउँपालिकाको गुठिचौर पाटन र खलंगाको राजासिममा एकैसाथ घोडा दौडाइयो । स्थानीय आनन्द अधिकारीले जुम्ली घोडाको संरक्षण र परम्परागत संस्कृतिको उजागर गर्न हरेक वर्ष घोडा दौड आयोजना गर्ने गरिएको बताए ।

यो पटक ४१ वटा घोडा दौडाइएको थियो । हरेक वर्ष दौडाउने घोडाको संख्या बढ्दै गइरहेको उनको भनाइ छ । दौडमा ‘पालित’, ‘चाल/कदम’ र ‘खुला रेस’ विधामा मूल्यांकन गरिएको थियो ।

पालित विधामा अमृत बुढा प्रथम, राजकुमार बुढा दोस्रो र अंगराज बुढा तथा रामकुमार बुढा तेस्रो भए । चाल/कदम विधामा राजेन्द्र रोकाया पहिलो, हर्कबहादुर शाही दोस्रो र गणेश शाही तेस्रो भए । खुला रेसमा कालीप्रसाद न्यौपाने विजेता, रवीन्द्र बाहेरा दोस्रो र लोकप्रसाद न्यौपाने तेस्रो भए । विजेताहरूलाई १५ हजार रुपैयाँसम्मको नगद राशिसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

Jumla Horse Racing Competition [Photos]

घोडा दौड संस्कृति संरक्षण तथा प्रवर्द्धन समिति, पशु अस्पताल तथा पशु सेवा कार्यालय र चन्दननाथ नगरपालिकाले कार्यक्रम संयोजन गरेका थिए । चन्दननाथ, पातारासी, सिंजा र गुठिचौर गाउँपालिकाबाट घोडा दौडका लागि घोडा ल्याइएको थियो ।

चन्दननाथ नगरपालिका–८ का जयकृष्ण धरालले दौडले किसानहरूमा जुम्ली घोडा संरक्षणको चेतनाको विकास गराएको बताए । उनले भने, ‘पहिले जुम्ली घोडा भेटाउन कठिन थियो । यो दौडको थालनीसँगै प्रत्येक घरमा घोडापालन गर्नुपर्छ भन्ने मानसिकताको विकास भएको छ ।’

Jumla Horse Racing Competition [Photos]

जुम्ली घोडा कर्णाली क्षेत्रको परम्परागत यातायातको साधनका रूपमा परिचित छ । कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै घोडापालन घटेको थियो ।

दसैंको अवसरमा गुठिचौर गाउँपालिकाको गुठिचौर पाटनमा भएको घोडा दौडमा पनि ४१ घोडा सहभागी थिए ।उक्त दौडमा शंकर रोकाया प्रथम, सुरेन्द्र थापा दोस्रो र अष्टमन बोहरा तेस्रो भए । उनीहरूलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

Jumla Horse Racing Competition [Photos]

चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले केही वर्षअघि जुम्ला विमानस्थलमा घोडा दौड हुने गरेको स्मरण गरे । विमानस्थल कालोपत्रे भएपछि घोडा दौड रोकिएको तर पछिल्ला एक दशकदेखि राजासिम मैदानमा निरन्तर घोडा दौड आयोजना हुँदै आएको बताए ।

Jumla Horse Racing Competition [Photos]

घोडा दौडले सांस्कृतिक मनोरञ्जन दिनुका साथै स्थानीय पर्यटन र जीवजन्तुको संरक्षणमा समेत टेवा पुगेको दाबी नगरप्रमुख कठायतको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully