९ वटै स्थानीय तहमा ९५ प्रतिशतभन्दा बढी १५ देखि ५९ वर्ष उमेर समूहका नागरिक साक्षर भएको तथ्यांंक प्राप्त भएपछि साक्षर जिल्ला घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कालीकोट — कालीकोटलाई बिहीबार कर्णालीको ९ औं र देशको ६८ औं साक्षर जिल्ला घोषणा गरिएको छ । 'साक्षरता नेपाल अभियान, हामी नेपालीको पहिचान' नाराका साथ कालीकोटलाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
जिल्ला समन्वय प्रमुख धनजित बहादुर शाहीको अध्यक्षता र संविधानसभा सदस्य तुलाराज विष्टको प्रमुख आतिथ्यमा जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, शैक्षिक सरोकारवाला, शिक्षक, अभिभावक, बालबालिकाको सहभागितामा कालीकोटले साक्षर जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख हर्षप्रसाद चौलागाईले बताए । गत असारभित्र जिल्लाका ९ वटै स्थानीय तह साक्षर पालिका घोषणापश्चात् बिहीबार कालीकोटलाई देशको ६८ औं र कर्णाली प्रदेशको ९ औं साक्षर जिल्ला घोषणा गर्न सफल भएको इकाई प्रमुख चौलागाईले बताए ।
साक्षरताका लागि १५ देखि ५९ उमेर समूहलाई आधार मानेर साक्षरता अभियान सञ्चालन गरेर ९५ प्रतिशत नागरिक साक्षर बनाएकाले पालिका हुँदै कालीकोट जिल्ला नै साक्षर घोषणा गरिएको पलाता गाउँ पालिका शिक्षा शाखा प्रमुख दुर्गालाल न्यौपानेले बताए । 'कागजमा जनसंख्याभन्दा बढी साक्षर भएको देखिन्छ,' उनले भने, 'व्यवहारमा अझै सबैलाई साक्षर बनाउन सकेका छैनौं ।'
कालीकोटका ९ वटै स्थानीय तहमा ९५ प्रतिशतभन्दा बढी १५ देखि ५९ वर्ष उमेर समूहका नागरिक साक्षर भएको तथ्यांंक प्राप्त भएपछि साक्षर जिल्ला घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए । 'साक्षरताको लागि पहिलेदेखि नै धेरै कार्यक्रम सञ्चालन हुँदै आएका हुन्,' उनले भने, 'बर्सेनि कक्षा चलाउँदा मापदण्डमा तोकिएअनुसार यहाँका नागरिक साक्षर भएको देखिन्छ ।' सरकारले ०७१ देखि सघन साक्षरता कार्यक्रम सुरु गरेर साक्षर नेपाल अभियान सञ्चालन गर्दै आएको छ ।
सरकारले निर्धारण गरेको साक्षरताका मापदण्डअनुसार १२ वटा सूचकमध्ये ५० प्रतिशत पूरा गरेपछि साक्षर मान्ने गरेको छ । मापदण्डअनुसार राष्ट्रभाषा वा मातृभाषाका वर्ण/अक्षर पढ्न र लेख्न सक्ने, आफ्नो भाषामा लेखिएका मूल्य सूची र बिल पढ्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने हुनुपर्नेछ । यसैगरी मोबाइल र क्यालकुलेटरमा अंक र अक्षर चिनेर प्रयोग गर्न सक्ने, ० देखि ९ सम्मका अंक लेख्न सक्ने, १ देखि १०० सम्म गणना गर्न सक्ने, लेनदेन हर हिसाब राख्न सक्ने, सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक संकेत पढ्न र बुझ्न सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचार सहित सक्रिय सहभागिता जनाउन सक्ने हुनुपर्छ । घडी हेरेर समय बताउन, भित्ते पात्रो हेरी तिथि, मिति बताउन सक्ने र बैंक भौचर भर्न र चेकको प्रयोग गर्न सक्नुलाई साक्षरताका सूचक छन् । यी मध्ये ५० प्रतिशत सूचक पूरा गरे साक्षरता घोषणा गर्न सकिने प्रावधान छ ।
