जुम्लाका तीन पत्रकार पुरस्कृत

रेडियो नारी आवाजकी स्टेसन म्यानेजर लक्ष्मी न्यौपाने, दूबो खबरका सञ्चालक कालीबहादुर परियार र कर्णाली सवालका सञ्चालक विजय रावत पुरस्कृत ।

आश्विन ८, २०८२

डीबी बुढा

Three journalists from Jumla awarded

जुम्ला — नेपाल पत्रकार महासंघ जुम्ला शाखाले जिल्लाका तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । रेडियो नारी आवाजकी स्टेसन म्यानेजर लक्ष्मी न्यौपाने, दूबो खबरका सञ्चालक कालीबहादुर परियार र कर्णाली सवालका सञ्चालक विजय रावतलाई पुरस्कृत गरिएको हो ।

न्यौपानेलाई गौरी पदम स्मृति, परियारलाई युवा तथा खेलकुद र रावतलाई कृषि तथा पर्यटन विधामा पुरस्कृत गरेको हो । पुरस्कृतका लागि परेका आवेदनहरूमा विषयवस्तु, लेखनशैली, भाषा, दृष्टिकोण, अनुभव र सन्दर्भलाई मूल्यांकन गरिएको थियो । 

नेपाल पत्रकार महासंघ जुम्लामा परेका आवेदनहरूमा उत्कृष्ट आवेदन दिने पत्रकार पुरस्कृत भएका हुन् । नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले जिल्लामा पत्रकारितामा सक्रिय श्रम र समर्पणलाई कदर गर्दै हरेक वर्ष पुरस्कार वितरण गर्ने परम्परा संस्थागत भएको बताए । उनले यसले पत्रकारिताको व्यावसायिकता प्रवर्द्धन गर्नुका साथै पत्रकारलाई हौसला दिने काम गरेको बताए । 

तीनै पत्रकारलाई जनही १० हजार रुपैयाँ नगद, कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखाले श्रमजीवी पत्रकारको हक–अधिकार संरक्षण, व्यावसायिक नेतृत्व प्रवर्द्धन र सञ्चार क्षेत्रको स्तरवृद्धिका लागि निरन्तर काम गर्दै आएको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully