६ महिनापछि नेपालगन्ज-डोल्पा सिधा बस सेवा सञ्चालनमा

हरेक वर्ष राष्ट्रिय सडक सञ्जालमा जोडिइरहन्छ डोल्पा

आश्विन ८, २०८२

रामचन्द्र न्यौपाने

Nepalgunj-Dolpa direct bus service in operation after 6 months

डोल्पा — २०७५ मंसिरमा पहिलो पटक राष्ट्रिय सडक सञ्जालमा जोडिएको डोल्पामा वर्षका ६ महिना आन्तरिक यातायातमै सीमित हुँदै आएको छ । कच्ची सडक र नदी–खोलामा पक्की पुल नहुँदा सिधा यातायात सञ्चालन हुन नसक्ने डोल्पामा प्रत्येक वर्ष हिउँदमा मात्रै राष्ट्रिय सडक सञ्जालमा डोल्पा जोडिरहन्छ । डोल्पालाई भेरी करिडोरले राष्ट्रिय सडक सञ्जालसाग जोडेको छ ।

 वैशाखदेखि कात्तिकसम्म ७ महिना डोल्पा आन्तरिक सडक सञ्जालमै खुम्चिने र ६ महिनामात्र राष्ट्रिय सडकसित जोडिने गरेको हो । मंगलबार नेपालगञ्ज र काठमाडौंबाट सिधा बसलगायतका चारपांग्रे सवारीसाधन डोल्पा सदरमुकाम दुनै पुगेपछि यस वर्ष पुनः राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । यो क्रम ६ वर्षदेखि दोहोरिादै आएको छ ।

करिडोरको बीच–बीचमा पर्ने भेरी नदी र अन्य खोलाहरूमा जलस्तर बढेपछि गत वैशाखपछि डोल्पामा सिधा बस आउन रोकिएका थिए । यस बीचको समयमा यात्रुले चारदेखि पाँच ठाउँमा गाडी परिवर्तन गर्दै यात्रा गर्नुपर्ने बाध्यता छ । करिडोरको बीचमा पर्ने आधा दर्जन बढी नदी र खोलामा पक्की पुल छैनन् । मोटरेबल पुल नहुँदा प्रत्येक वर्ष बर्खाका ६ महिना डोल्पा आन्तरिक सडक सञ्जालमै खुम्चिने गरेको हो । सुर्खेतको छिन्चुदेखि उपल्लो डोल्पामा पर्ने मोरिम्ला नाकासम्म भेरी करिडोर जोडिएको छ । यो सडकको लम्बाइ ३ सय ७१ किलोमिटर छ ।

भेरी करिडोरलाई चीन र भारत सीमा जोड्ने त्रिदेशीय महत्वपूर्ण व्यापारिक मार्गको रुपमा समेत चिनिन्छ । यस अन्तर्गत पर्ने जाजरकोटको तल्नुबगरदेखि डोल्पाको दुनैसम्मको ६१ किलोमिटर सडकको अवस्था जोखिमपूर्ण छ । कच्ची र साँघुरो सडकको बीच–बीचमा पर्ने खोलामा मोटरेबल पुल नबन्दा चार/पााच ठाउामा गाडी परिवर्तन गर्दै यात्रा गर्नुपर्ने बाध्यता छ । जिल्ला भित्रिने र बाहिरिने यात्रुले तल्नु र दुनैको बीचमा पर्ने छलगाड, चुागाड, गोतामकोट, मुलातरालगायतका ठाउँमा खोला तरेर गाडी परिवर्तन गर्नुपरेको यात्रु सुनाउँछन् ।

डोल्पालाई नेपाली सेनाले ०७५ मंसिरमै राष्ट्रिय सडक सञ्जालमा जोडेर सडक विभागलाई हस्तान्तरण गरे पनि स्तरोन्नति र पक्की पुल निर्माण हुन सकेको छैन । त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय जयस उपाध्यायले दुर्गम जिल्ला डोल्पालाई सहरसित जोड्ने भेरी करिडोरमा आवश्यक पुल नबन्दा डोल्पालीले वर्षका ६ महिना समस्या भोग्नु परेको बताए । ‘६ महिनासम्म समयमै गन्तव्यमा नपुगिनेदेखि दोब्बर/तेब्बर भाडा तिर्नुपर्ने र चालकको मनपरी खेप्नुपर्छ,’ उनले भने, ‘सडक स्तरोन्नति र नदी–खोलामा पक्की पुल डोल्पाली जनताले दुख पाइरहेका छौं ।’ पहिले नै ठेक्का खुलेर पनि निर्माणाधीन पुलहरु पूरा नहुँदा समस्या भइरहेको उनले बताए ।

Nepalgunj-Dolpa direct bus service in operation after 6 monthsडोल्पा, रुकुम पश्चिम र जाजरकोटको प्रहरी प्रशासनले चासो नदिँदा डोल्पा भित्रिने र बाहिरिने यात्रुहरुले ६ महिनासम्म जाजरकोटको तल्नुबगरदेखि दुनैसम्मको यात्रामा विभिन्न हैरानी खेप्नु परेको उनले बताए । भेरी करिडोरको यात्रा गर्दा डोल्पाको त्रिपुराकोट बजारदेखि नै यात्रुले दु:ख पाउन सुरु हुने अधिवक्ता पूर्णप्रसाद हमालले बताए ।

मंगलबारदेखि डोल्पासम्म सिधा बस सञ्चालन भए पनि बर्खाको समयमा त्रिपुराकोटदेखि तल्नुबगरसम्म सडकको जीर्ण सडक, जीप चालक र व्यवसायीको मनोमानीले सर्वसाधारणले समस्या भोग्दै आएको हमाल बताउँछन् । ‘यस सडकखण्ड बीचमा चार र नौ सिट क्षमताका दुई दर्जन बढी जीप सञ्चालनमा छन्, यी जीपले ठाउँ–ठाउँमा यात्रुलाई अर्कोमा सारेर तल्लुबगरसम्म पुर्‍याउँछन्, जसका कारण भाडादरमा यात्रु ठगिनेदेखि समयमै गन्तव्यमा नपुग्ने समस्या हुन्छ ।’ 

हमालका अनुसार जिप यात्रुले भरिँदा पनि समयमै नछुट्ने, चालकले खाना/खाजा खाने निहुँ बनाएर घण्टौं बाटोमा गाडी रोक्ने र सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने गर्नाले सुर्खेत–नेपालगन्ज पुग्नै दुई दिनसम्म लाग्ने गरेको छ । उनी भन्छन्, ‘यो खण्डको बीचमा ट्राफिक प्रहरी त छन् । तर, जीपमा मनोमानी यात्रु राख्नेदेखि बढी भाडा असुल्ने गर्दा समेत कारबाही गरिँदैन, कहिलेकाहीँ त चालकले मादक पदार्थ सेवन गरेर गाडी चलाउँदासमेत प्रहरीले कारबाही गर्दैन ।’

Nepalgunj-Dolpa direct bus service in operation after 6 monthsतल्नुदेखि दुनैसम्मको सडक स्तरोन्नति भएर बीच–बीचमा पर्ने खोलामा पुल बनेको खण्डमा यस्ता समस्या आफैं समाधान भएर जाने उनले बताए । ठाउँठाउँमा गाडी परिवर्तन गर्नुपर्ने भएकाले यात्रुलाई नेपालगन्जसम्म गाडीमा भन्दा जहाजमा जान कम खर्च लाग्ने गरेको छ । बर्खाको बेला डोल्पाबाट नेपालगन्ज पुग्न ६ हजार ७ सय रुपैयाँ मात्र भाडा लाग्ने गरेको छ । गाडीमा यात्रा गर्दा १० हजारसम्म खर्च हुने गरेको यात्रुको गुनासो छ । भेरी करिडोर कार्यालय जाजरकोट र यस सडकमा पर्ने स्थानीय तहले सडकमा आइपर्ने स-साना समस्या बेलैमा हल नगर्दा बर्खाको समयमा घण्टौं सडक अवरुद्ध गरेको पनि यात्रु सुनाउँछन् ।

भेरी करिडोर कार्यालय जाजरकोटका इन्जिनियर अच्युतविलास पन्तका अनुसार तल्नुबगरदेखि दुनैसम्म सडक स्तरोन्नति गरी सिधा यातायात सञ्चालनमा ल्याउन दुई वटा ठेक्का कार्यान्वयनमा आइसकेको बताए । उनी भन्छन्, ‘अहिले यस खण्डमा राज्यको करिब डेड अर्ब रकम लगानी लागेको छ, बीचमा पक्की पुलहरू निर्माणका लागि पनि अन्य निकायबाट पनि ठेक्का लागिसकेको छ, करिडोरका बीचमा सडक बिग्रेको अवस्थामा सुधार गर्न दुई वटा एक्स्काभेटर तयारी अवस्थामा छन् ।’

डोल्पाका प्रमुख जिल्ला अधिकारी भीमराज कोइराला डोल्पासम्म बाह्रै महिना सिधा सडक सम्पर्क कायम राख्न बीचमा पर्ने खोलानालामा पक्की पुल निर्माण र स्तरोन्नतिको काम नभइ नहुने बताए । दसैंतिहारलगायतका चाडपर्वलाई लक्षित गरेर ठाउँ–ठाउँमा अवरुद्ध सडक मर्मत गर्न पहल भएर मंगलबार ६ महिनापछि काठमाडौं, नेपालगन्जलगायतका सहरबाट सिधा बस आएको उनले बताए ।

भेरी करिडोरको ल्यासीक्याप–सिसौलसम्मको ३५ किलोमिटर सडक ट्य्राक खुलाउनै बाँकी छ । निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्नुका साथै विस्फोटक पदार्थ खरिद प्रक्रिया झन्झटिलो हुँदा दुनैदेखि ल्यासीक्यापसम्मको २५ किलोमिटर सडक निर्माणको काम तीन वर्षदेखि अलपत्र परेको छ । सिसौलदेखि मोरिम्ला नाकासम्मको ४० किलोमिटर सडकको ट्य्राक यसअघि नै खोलिसकेको छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully