लागुऔषध कारोबारको आरोपमा डाक्टर र स्ववियु सभापति पक्राउ

बझाङमा पछिल्लो समय लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको गुनासो स्थानीयले गर्ने गरेका थिए ।

आश्विन ८, २०८२

बसन्तप्रताप सिंह

Doctor and Swaviyu President arrested on charges of drug dealing

बझाङ — बझाङमा लागुऔषध कारोबारको आरोपमा डाक्टर र स्ववियु सभापति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला अस्पतालमा कार्यरत डाक्टर मिलनराज जोशी र जयपृथ्वी क्याम्पसका स्ववियु सभापति तिलकचन्द्र बोहरा रहेका छन् । उनीहरुलाई मंगलबार साँझ पक्राउ गरिएको हो । 

गत भदौ ५ गते ४ सय ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका विशाल रावलको सम्पर्क पछ्याउँदै जाँदा प्रहरीले जोशी र बोहरालाई पक्राउ गरेको हो । रावल जयपृथ्वी नगरपालिका–९ चिउडीखान भन्ने ठाउँमा ग्रिल उद्योग संचालन गर्ने व्यक्ति हुन् । ‘रावलकै कल डिटेल, मेसेन्जर र हृवाट्स एपमा गरेको कुराकानीका आधारमा जोशी र बोहराको कनेक्सन पक्ता लागेको हो,' जिल्ला प्रहरी कार्यालय प्रमुख खगेन्द्र धमलाले भने, ‘अहिलेसम्मको अनुसन्धानले उनीहरु लागुऔसध प्रयोगकर्ता भएको बुझिएको छ । थप अनुसन्धान भैरहेको छ ।' उनका अनुसार भारतबाट धनगढी हुँदै ब्राउन सुगर बझाङ ल्याई बिक्री विरतण गर्ने गरेको छ । 

यस्तै पक्राउ परेका व्यक्तिको बयानका आधारमा बुधबार दिउँसो जयपृथ्वी नगरपालिका-१० का अर्का फरार व्यक्तिको घरमा समेत प्रहरीले खानतलासी गरेको थियो । उनको घरबाट एक हजार दरका १९ वटा नक्कली नोट भेटिएको छ । नकक्ली नोट पक्राउ परेका तिलकचन्द्र बोहराले ल्याएर राख्न दिएको भन्ने बयान घरधनीले दिएको डीएसपी घमलाले जानकारी दिए । ‘केही व्यक्ति अझै फरार छन् । नक्कली नोटको समेत कारोबारमा संलग्न भेटिएपछि यो विषयमा अझ फराकिलो ढंगले अनुसन्धान भैरहेको छ,' धमलाले भने । 

पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

बझाङमा पछिल्लो समय लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको गुनासो यहाँका स्थानीयले गर्ने गरेका थिए । लागुऔषध प्रयोगकर्ताका कारण साँझपख हिँड्डुल गर्दा पनि असुरक्षित हुनु परेको बारे यहाँका अगुवाहरुले विभिन्न ठाउँमा बोल्दै आएका थिए  । 

प्रहरीले गत साउन ३ गते पनि १०० मिलिग्राम ब्राउन सुगर र आधा केजी चरेस सन्दिप बोहरा र सागर बोहरालाई पक्राउ गरेको थियो । उनीहरुको सम्पर्क पछ्याउँदा दिपक आले मगर र अमित छन्त्याल पनि ब्राउन सुगरको कारोबार गरेको अभियोगमा पक्राउ परेका थिए । पक्राउ परेकामध्ये बोहराद्वय अदालतको आदेशमा १ लाख २० हजार घरौटीमा छुटेका छन् । मगर र छन्त्याललाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ । 

बझाङमा लागुऔषध चरेस र प्रतिबन्धित औषधिहरु लागुऔषधको रुपमा प्रयोग गर्नेहरुको संख्या पनि बढिरहेको जानकारहरु बताउँछन् । प्रहरीले साउन २२ यता करिब चार केजी चरेससहित छविस पाथीभेरा- २ का २२ वर्षीय ज्ञानेन्द्र मण्डेल र १८ वर्षका अजय मण्डेल, शेरबहादुर बोहरालाई पक्राउ गरेको थियो ।

बसन्तप्रताप सिंह

Link copied successfully