मंगलबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार पालिकाले १५९ वटा योजना सम्पन्न गरेको उल्लेख गरिएको थियो । विभिन्न शीर्षकमा अन्य थप योजना पनि सम्पन्न भएका छन्।
जुम्ला — जुम्लाको तातोपानी गाउँपालिकाले ‘असारे विकास’को अन्त्य गर्दै समयमै योजना कार्यान्वयन र भुक्तानी सम्पन्न गर्ने कार्यमा अग्रसर देखिएको छ । जिल्लामै पहिलोपटक श्रमदान अभियान सञ्चालन गरेर योजना निर्माणमा समुदायको सक्रिय सहभागिता बढाएको यो पालिकाले आर्थिक वर्ष २०८१/८२ मा १६२ वटा योजना सम्पन्न गरेको छ ।
मंगलबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार पालिकाले १५९ वटा योजना सम्पन्न गरेको उल्लेख गरिएको थियो । विभिन्न शीर्षकमा अन्य थप योजना पनि सम्पन्न भएका छन्। योजना शाखा प्रमुख ओमबहादुर चन्दका अनुसार, वित्तीय समानीकरण अन्तर्गतका १२३ योजनामध्ये १२१ योजना पूरा भएका छन् । यस्तै, प्रदेश सशर्तका १४ वटै, संघीय सशर्तका ३ वटा, संघीय विशेष अनुदानअन्तर्गतको एक योजना पनि सम्पन्न भइसकेको छ ।
प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत क्रमशः १२ र ८ गरी कुल २० योजना पनि गत आर्थिक वर्षमै सम्पन्न गरिएको छ ।
पालिकाले पुँजीगततर्फ विनियोजित १७ करोड ४३ लाख बजेटमध्ये १३ करोड २० लाख रुपैयाँ खर्च गरेको छ भने चालु खर्चतर्फ ३० करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । ३२ लाख राजस्व संकलनको लक्ष्य लिएकोमा ३१ लाख ७३ हजार रुपैयाँ संकलन भएको जनाएको छ ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले पालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकासमा विशेष जोड दिएको बताए । ‘शिक्षामा सुधार ल्याउन दरबन्दी मिलान, नमुना भान्सा घर, विद्यार्थीको तथ्यांक संकलन, शिक्षक क्षमता विकासलगायत कार्यक्रम सञ्चालन गरेका छौं,’ अध्यक्ष चौलागाईंले भने, ‘पाँच वर्षभित्र पालिकालाई नमुना बनाउने हाम्रो संकल्प छ ।’
उनले नदीजन्य पदार्थको अवैध उत्खननबाट राजस्व गुमिरहेको र त्यसलाई नियन्त्रण गर्न कार्यविधि तयार गरी कार्यान्वयनको तयारी भइरहेको बताए । पालिकाकी उपाध्यक्ष रेवती रावलले महिला सशक्तिकरण र सामाजिक रुपान्तरणका क्षेत्रमा प्रभावकारी काम भएको उल्लेख गरिन् । ‘सीमित स्रोतसाधनका बीच पनि नागरिकको आवश्यकता पूरा गर्न हरसम्भव प्रयास गरेका छौं,’ उनले भनिन् ।
प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतका अनुसार सम्पन्न भएका सबै योजना उपभोक्ता समितिमार्फत सम्बन्धित वडामा हस्तान्तरण गरिएको छ । ‘योजनाको दिगोपनका लागि स्थानीयको स्वामित्व आवश्यक छ,’ उनले भने । पालिकामा ३३ सय घरधुरीमध्ये २१ सय घरधुरीको बीमा गरिसकिएको जानकारी पनि उनले दिए ।
सार्वजनिक सुनुवाइ र नियमित समीक्षा बैठकमार्फत नागरिकको गुनासो सुन्ने र सुधार गर्ने अभ्यास पालिकाले निरन्तर गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत कठायतले बताए । उनले विकास निर्माण र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन साझा प्रतिबद्धता व्यक्त गरे ।
