वीरेन्द्रनगरका १२ वडाको सेवाप्रवाह नगरपालिकाबाटै 

आगलागी भएको १२ दिनपछि नगरपालिका कार्यालय र जिल्ला समन्वय समितिबाट सेवाप्रवाह थालिएको हो । 

आश्विन ७, २०८२

कृष्णप्रसाद गौतम

12 wards of Birendranagar are served by the municipality

सुर्खेत — जेन-जी आन्दोलनका क्रममा  वडा कार्यालयहरुमा आगजनी भएपछि बन्द भएको वीरेन्द्रनगरका १२ वटा वडा कार्यालयको सेवाप्रवाह सुरु भएको छ । आगलागी भएको १२ दिनपछि नगरपालिका कार्यालय र जिल्ला समन्वय समितिबाट सेवाप्रवाह थालिएको हो । 

आगलागी र तोडफोडका कारण वडा कार्यालयका सम्पूर्ण कोठाहरु, कागजात, फर्निचर, कम्प्युटर तथा इलेक्ट्रोनिक सामग्री नष्ट र चोरी भएपछि नगरपालिका र नगरपालिका परिसरको जिल्ला समन्वय समितिबाट सेवाप्रवाह थालिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले बताए ।

उनका अनुसार नगरपालिकाको २, ३, ४, ५, ६, १० र ११ गरी ७ वटा वडा कार्यालय आगलागीका कारण पूर्णरुपमा ध्वस्त भएका छन् भने १, ७, ८, ९ र १२ नम्बर वडामा आंशिक क्षति पुगेको छ । जसका कारण वडा कार्यालयबाट तत्काल सेवाप्रवाह गर्न नसकिएको हो । 

नगरप्रमुख मोहनमाया ढकालले क्षति भएका संरचनाहरु मर्मतसम्भार गरेर पुनः प्रयोगमा ल्याउन सकिने वा नसकिनेबारे प्राविधिक टोलीले एकीन गरिरहेको बताइन् । उनका अनुसार नगरपालिकाका केही शाखाको काम पनि तोडफोडका कारण अवरुद्ध भएको छ । 

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully