चन्दननाथ–भैरवनाथ गुठी समितिका अध्यक्ष अमरबहादुर थापाले हरेक वर्ष घटास्थापनाको दिनमा लिंगो फेर्ने गरेको बताए ।
जुम्ला — जुम्लाको सदरमुकाम खलंगास्थित कर्णाली प्रदेशको प्रशिद्ध धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा लिंगा फेरिएको छ ।
घटस्थापनाका अवसरमा सोमबार परम्परा अनुसार चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो फेरिएको हो । चन्दनाथमा ५२ हातको लिंगो फेरेर ५२ हातकै नयाँ ध्वजासमेत फहराइएको छ ।
चन्दननाथ–भैरवनाथ गुठी समितिका अध्यक्ष अमरबहादुर थापाले हरेक वर्ष घटास्थापनाको दिनमा लिंगो फेर्ने गरेको बताए । अध्यक्ष थापाले भने, ‘चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते ध्वजा राखियो । भैरवनाथमा ४८ हातको लिंगो र ४८ हातको ध्वजा फहराइएको हो ।’
वर्षमा ५२ हप्ता हुने भएकाले चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो र ध्वजा राखिन्छ । वर्षभरि देवी–देवताले प्राकृतिक विपत्तीबाट रक्षा गरून् भन्ने विश्वाससहित मन्दिरमा लिंगो हालेर घटास्थापना गरिन्छ ।
लिंगो फेरेपछि मात्र जुम्लावासीले आ–आफ्नो घरमा जमरा राख्ने र घटस्थापना प्रारम्भ गर्ने चलन छ । सोही कारण जिल्लाका स्थानीयले प्राय मध्यान्हपछि मात्र जमरा राख्छन् । मन्दिर क्षेत्रका स्थानीयले सोही मन्दिरको माटो लिएर जमरा राख्ने गरेका छन् ।
धार्मिक आस्थासँग जोडिएको यो परम्परा अन्तर्गत कृषिमा समृद्धि र भोकमरी नहोस् भन्ने कामना गर्ने गरिन्छ । लिंगा फेरेसँगै चन्दननाथ भैरवनाथ मन्दिरमा मार्सीधानको सिक चढाउने परम्परा छ । जसले मार्सीधानको उत्पादन वृद्धि र किसानमा उत्साह बढाउने विश्वास छ ।
दशकअघि सम्म लिंगो फेर्ने अवसरमा कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट मन्दिरका लागि धार्मिक सामग्री पठाउने परम्परा थियो । जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ, मह, हुम्लाबाट ठेटुवा, चौँरी फुर्को र थाप्का तथा मुगुबाट मास, मुगी दाल, राडीपाखी लगायतका सामग्री ल्याउने चलन थियो ।
अहिले यो परम्परा रोकिएको छ । चन्दननाथ भैरवनाथ गुठी समितिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यले भने, ‘अहिले सबै व्यवस्था सुरक्षाकर्मीमार्फत मिलाइने गरिएको छ ।’ घटस्थापनाका दिन जुम्लाबासीले नयाँ अन्न (नुवागी) खाने परम्परा पनि लामो समयदेखि चल्दै आएको छ ।
