स्थानीय दलवीर रोकायाका अनुसार भालुले आक्रमणको क्रममा गाउँलेको गाई, गोरु र भेडासमेत मारेको छ।
जुम्ला — जुम्लाको हिमा गाउँपालिका–५ बाझगाडको भित्र वन क्षेत्रमा बुधबार बिहान भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
गाईवस्तु चराउँदै गर्दा भएको आक्रमणमा सोही गाउँका ३० वर्षीय हरिचन्द्र रोकाया गम्भीर घाइते भएका छन् । उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको छ ।
यस्तै, ३५ वर्षीय गणेश रोकाया सामान्य घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। स्थानीय दलवीर रोकायाका अनुसार भालुले आक्रमणको क्रममा गाउँलेको गाई, गोरु र भेडासमेत मारेको छ।
‘बिहानै चराउन लगेका बेला अचानक आक्रमण भयो । गाउँमा त्रास फैलिएको छ,’ उनले सुनाए ।
वन क्षेत्र नजिकै गाउँ भएकाले पछिल्ला वर्ष यस्ता घटनामा वृद्धि हुँदै गएको भन्दै स्थानीयले तत्काल नियन्त्रणका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन्।
