गुठिचौर गाउँपालिकाको आयोजनामा सुरु भएको महोत्सव असोज ११ सम्म चल्नेछ ।
जुम्ला — जुम्लाको गुठिचौर गाउँपालिका-२ गुठिचौर पाटनमा दोस्रो प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ । गुठिचौर गाउँपालिकाको आयोजनामा सुरु भएको महोत्सव असोज ११ सम्म चल्नेछ ।
महोत्सव उद्घाटन गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले गरेका थिए ।
आइतबार पहिलो दिनमा २५ वटा उडान भरेको अध्यक्ष बुढाले जानकारी दिए । प्याराग्लाइडिङ महोत्सवमा पोखरा, स्याङ्जा र सुर्खेतका गरेर १२ जना चालक गुठिचौर आइपुगेका छन् । यो वर्ष २ सय ५० भन्दा धेरै उडान भर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष बुढाले बताए । पहिलो प्याराग्लाइडिङ महोत्सवमा २३४ उडान गरिएको थियो ।
साहसिक पर्यटन विकास गर्न प्याराग्लाइडिङ क्षेत्रलाई प्रवर्द्धन गर्न लागिएको अध्यक्ष बुढाले बताए । 'महोत्सव मनोरञ्जनका लागि मात्र होइन्,' अध्यक्ष बुढाले भने, ‘गुठिचौरलाई साहसिक पर्यटनको नक्सामा कायम गराउन पनि उत्तिकै महोत्त्वपूर्ण छ ।’
प्यारा गर्नेहरुले गुठिचौरको सुन्दरताको भरपुर अवलोकन गर्छन् । यो सँगै स्याउ बगैंचाहरु, हरियाली वन र पाटन क्षेत्रहरुका साथै सँगै जोडिएका जुम्लाका घना बस्तीहरुको समेत अध्ययन गर्न पाइरहेका छन् ।
एक जनाले गुठिचौरको आकाशमा न्यूनतम २० देखि अधिकतम ३० मिनेटसम्म उडान सेवा पाउनेछन् । स्थानीयका लागि ३५ सय रुपैयाँ र बाहृय पर्यटकका लागि ४ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
गाउँपालिकाले पर्यटन गन्तव्यको रुपमा स्थापित गर्न प्याराग्लाइडिङ महोत्सवको आयोजना गरेको जनाएको छ । महोत्सवका लागि चाहिने पूर्वाधार, सुरक्षा व्यवस्था र पाइलट व्यवस्थापनको काम पनि प्रभावकारी रुपमा भइरहेको छ । आवश्यक उपकरण सहित स्वास्थ्यकर्मीहरुसमेत राखिएको छ ।
यो कार्यले स्थानीयको जीवनस्तरमा समेत फेरबदल ल्याउने आशा गरिएको छ । होटल, रेष्टुँरा, यातायात, गाइड सेवालगायतका क्षेत्रमा रोजगारी बढ्ने र स्थानीय उत्पादनलाई बजारमा पुर्याउने अवसरसमेत सिर्जना अपेक्षा राखिएको छ ।
गाउँपालिका अध्यक्ष बुढाले बर्सेनि पर्वका रुपमा प्याराग्लाइडिङ महोत्सव आयोजना गरिने बताए ।
