रुकुम पश्चिम कारागारबाट फरार भएकामध्ये २५ कैदीबन्दी भेटिएनन्

स्थानीय प्रशासनले उनीहरुको खोजी कार्यलाई तीब्र बनाएपनि उनीहरु हालसम्म सम्पर्कमा छैनन्।

आश्विन ५, २०८२

महेश केसी

Among those who escaped from Rukum West Jail, 25 inmates were not found

रुकुम पश्चिम — जेन-जी आन्दोलनको मौका छोपी गत भदौं २४ गते रुकुम पश्चिम कारागारबाट फरार भएकामध्ये २५ जना कैदीबन्दी सम्पर्कमा आएका छैनन् । स्थानीय प्रशासनले उनीहरुको खोजी कार्यलाई तीब्र बनाएपनि उनीहरु हालसम्म सम्पर्कमा छैनन्।

प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीका अनुसार गत भदौ २४ गते साँझ साढे ५ बजेतिर जिल्ला कारागारमा रहेका जम्मा १ सय ५८ जना कैदीबन्दीमध्ये ८८ जना भागेका थिए ।‘यसमध्ये हालसम्म ६३ जनालाई पक्राउ गरेर कारागारमा ल्याइएको छ ।

बाँकी २५ जना अहिले पनि कारागार बाहिरै रहेका छन्,’उनले भने ‘बाँकी कैदीबन्दीहरुको खोजतलास जारी छ । उनीहरुको खोजी कार्यमा सहयोग गर्न सार्वजनिक सुचना समेत जारी गरिएको छ र जसरी पनि कारागारमा फिर्ता ल्याउने गरी काम गरिरहेका छौं ।’

जिल्लामा जेन–जी युवाहरुको प्रर्दशन सामान्य रहेपनि कारागारमा रहेका कैदीबन्दीहरुले एक्कासी हो–हल्ला र हुल–हुज्जत गरी पहिलो गेट समेत भत्काएर बाहिर निस्किएका थिए। 

‘हामीले त्यसदिन जिल्लाभर अरु बेला जस्तै शान्ति सुरक्षा कायम गराइ राख्न सकेको कोसिस गरिरहेकै थियौं । तर कारागारबाट एक्कासी कैदीबन्दी भागेपछि तत्काल एक्सनमा गएर १६ जना कैदी फिर्ता ल्यायौं,’ प्रजिअ थानीले थपे, ‘त्यसपछि पनि जिल्लाको शान्ति–सुरक्षाको संवेदनशीलतालाई ध्यान दिएर सक्रियताका साथ काम गरिहरेका छौँ। सँगसँगै फरार कैदीबन्दीहरु खोज्ने काम पनि भइरहेको छ । उहाँहरु सजिलै सम्पर्कमा आउनुभएन भने कानुनतः जानुपर्ने हुन्छ त्यसो गर्दा भागेका कैदीबन्दीहरुलाई नै झन् गाह्रो पर्छ ।’

तत्कालीन समयमा जिल्लाको शान्ति–सुरक्षालाई ध्यान दिदै गत भदौ २७ र २८ गते २ दिन जिल्ला सदरमुकाम क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गर्‍यो । त्यसपछि जिल्ला कारागार आसपास २ सय मिटर क्षेत्रलाई निषेधित क्षेत्र अहिले पनि कायम गरिएको बताइएको छ भने कारागारमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

जिल्ला सदरमुकाम र आसपासमा पनि तिनै तहका सुरक्षा निकायले संयुक्त सुरक्षा गस्ती समेत गरिरहेको अवस्था छ ।  कारागारबाट कैदीबन्दी भागेको विषयमा सहायक प्रजिअ केशवप्रसाद ओलीको संयोजकत्वमा २ सदस्यीय छानबिन समिति घटना घटेको भोलिपल्टै बनाइएको छ । उक्त समितिले चाँडै नै प्रतिवेदन बुझाएपछि उक्त घटनाबारे विस्तृत थाहा हुने आशा गरिएको छ।

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully