चन्दननाथ मन्दिरका लागि ५२ हातको दुई लिंगो र भैरवनाथका लागि ४८ हातको लिंगो हाल्ने चलन छ ।
जुम्ला — पछिल्लो समय अत्यधिक वन फडानी हुन थालेपछि कर्णालीको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरमा हरेक वर्ष फेरिने लिंगा पाइन छाडेका छन् । लिंगो बनाउने रुख खोज्न निकै टाढा जानुपरेको स्थानीयको भनाइ छ ।
'पहिले गाउँ नजिकै प्रशस्त रुख पाइने भएकाले लिंगा बनाउने रुख खोज्न टाढा जानु पर्दैनथ्यो,' चन्दननाथ भैरवनाथ गुठी समितिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यले भने, ‘अहिले निकै टाढा जानुपर्ने अवस्था छ । हाम्रो संस्कृतिअनुसार हालिनुपर्ने लिंगा बनाउने रुख पाइनै मुस्किल भइसक्यो ।’
उनका अनुसार परम्परादेखि चन्दननाथ नगरपालिका-३ स्थित लामासिम रडिखेल्ला जंगलबाट लिंगो बनाएर ल्याउने चलन छ । चन्दननाथ मन्दिरका लागि ५२ हातको दुई लिंगा र भैरवनाथका लागि ४८ हातको लिंगो हाल्ने चलन छ ।
'अहिले न लिंगा बनाउने रुख भेटिन्छ, न त लिंगा ल्याउने भक्तजनहरु नै,' प्रमुख आचार्यले थपे, ‘जंगलमा ठूला रुख भेटिँदैनन् । साना रुखको लिंगा हाल्दा काम चल्दैन । ’
परम्परादेखि ऋषि पञ्चमीका दिन जंगलबाट लिंगा निकालेर आश्विन कृष्ण त्रयोदशीमा सदरमुकाम खलंगामा ल्याइपुर्याउनुपर्ने मान्यता छ । घटास्थापनाका दिन पूजापाठ गरेर चन्दननाथ भैरवनाथ मन्दिरमा लिंगा खडा गर्ने चलन रहेको गुठी समितिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए ।
पहिलेका मानिसहरु लिंगा हातहातमा राखेर खलंगाको चन्दननाथ भैरवनाथ मन्दिर सम्म लिंगा ल्याइपुर्याउँथे । बीचमा काँधमा बोकेर ल्याउने चलनको सुरुवात भयो । सदरमुकाम खलंगामा गाडी पुगेसँगै चारवर्षयता ट्र्याक्टरमा ढुवानी गरेर लिंगा ल्याउन थालिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आम नागरिकले सडकमा तानेर लिंगा खलंगामा पुर्याउने गरेका छन् ।
लिंगा बनाउन जाँदा पहिलो दिन जंगलको पूजा गरिन्छ । त्यहीँ बोको चढाएर मात्र रुख काट्ने चलन छ । लिंगा तान्न पूजापाठ गरेर बाजागाजा सहितको टोली नै जंगल जाने गर्छ ।
पहिले लिंगा तान्नमा प्रयोग हुने लठ्ठा (चौंरीका फुर्का) मुगुदेखि ल्याउने गरिन्थ्यो ।बाँध्ने डोरी हुम्लाबाट आइरहन्थ्यो । लिंगा खडा गर्न चाहिने बाबियोका डोरी कालिकोबाट पठाइन्थ्यो । अहिले यी सबै जिल्लाबाट सामानहरु आउन छाडेका छन् । पछिल्लो पुस्ता धर्मकर्मप्रति जिम्मेवार नदेखिएको र पहिलो पुस्ताले धान्दै आएको संस्कार र संस्कृति अँगाल्न नसक्दा समस्या देखिएको जानकारहरु बताउँछन् ।
