जंगल फँडानीको असर : मन्दिरमा हरेक वर्ष फेरिने लिंगो पाइनै छाड्यो

चन्दननाथ मन्दिरका लागि ५२ हातको दुई लिंगो र भैरवनाथका लागि ४८ हातको लिंगो हाल्ने चलन छ ।

आश्विन ३, २०८२

डीबी बुढा

Effect of deforestation: Lingo, which is changed every year, is no longer found in the temple

जुम्ला — पछिल्लो समय अत्यधिक वन फडानी हुन थालेपछि कर्णालीको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरमा हरेक वर्ष फेरिने लिंगा पाइन छाडेका छन् । लिंगो बनाउने रुख खोज्न निकै टाढा जानुपरेको स्थानीयको भनाइ छ ।

'पहिले गाउँ नजिकै प्रशस्त रुख पाइने भएकाले लिंगा बनाउने रुख खोज्न टाढा जानु पर्दैनथ्यो,' चन्दननाथ भैरवनाथ गुठी समितिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यले भने, ‘अहिले निकै टाढा जानुपर्ने अवस्था छ । हाम्रो संस्कृतिअनुसार हालिनुपर्ने लिंगा बनाउने रुख पाइनै मुस्किल भइसक्यो ।’

उनका अनुसार परम्परादेखि चन्दननाथ नगरपालिका-३ स्थित लामासिम रडिखेल्ला जंगलबाट लिंगो बनाएर ल्याउने चलन छ । चन्दननाथ मन्दिरका लागि ५२ हातको दुई लिंगा र भैरवनाथका लागि ४८ हातको लिंगो हाल्ने चलन छ । 

'अहिले न लिंगा बनाउने रुख भेटिन्छ, न त लिंगा ल्याउने भक्तजनहरु नै,' प्रमुख आचार्यले थपे, ‘जंगलमा ठूला रुख भेटिँदैनन् । साना रुखको लिंगा हाल्दा काम चल्दैन । ’ 

परम्परादेखि ऋषि पञ्चमीका दिन जंगलबाट लिंगा निकालेर आश्विन कृष्ण त्रयोदशीमा सदरमुकाम खलंगामा ल्याइपुर्‍याउनुपर्ने मान्यता छ । घटास्थापनाका दिन पूजापाठ गरेर चन्दननाथ भैरवनाथ मन्दिरमा लिंगा खडा गर्ने चलन रहेको गुठी समितिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए । 

पहिलेका मानिसहरु लिंगा हातहातमा राखेर खलंगाको चन्दननाथ भैरवनाथ मन्दिर सम्म लिंगा ल्याइपुर्‍याउँथे । बीचमा काँधमा बोकेर ल्याउने चलनको सुरुवात भयो । सदरमुकाम खलंगामा गाडी पुगेसँगै चारवर्षयता ट्र्याक्टरमा ढुवानी गरेर लिंगा ल्याउन थालिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आम नागरिकले सडकमा तानेर लिंगा खलंगामा पुर्‍याउने गरेका छन् । 

Effect of deforestation: Lingo, which is changed every year, is no longer found in the temple

लिंगा बनाउन जाँदा पहिलो दिन जंगलको पूजा गरिन्छ । त्यहीँ बोको चढाएर मात्र रुख काट्ने चलन छ । लिंगा तान्न पूजापाठ गरेर बाजागाजा सहितको टोली नै जंगल जाने गर्छ । 

पहिले लिंगा तान्नमा प्रयोग हुने लठ्ठा (चौंरीका फुर्का) मुगुदेखि ल्याउने गरिन्थ्यो ।बाँध्ने डोरी हुम्लाबाट आइरहन्थ्यो । लिंगा खडा गर्न चाहिने बाबियोका डोरी कालिकोबाट पठाइन्थ्यो । अहिले यी सबै जिल्लाबाट सामानहरु आउन छाडेका छन् । पछिल्लो पुस्ता धर्मकर्मप्रति जिम्मेवार नदेखिएको र पहिलो पुस्ताले धान्दै आएको संस्कार र संस्कृति अँगाल्न नसक्दा समस्या देखिएको जानकारहरु बताउँछन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully