ढुंगा खसेर अवरुद्ध कर्णाली राजमार्ग भरखरै खुल्यो

सडक डिभिजन कार्यालयले डोजर लगाएर ढुंगा पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको छ ।

आश्विन २, २०८२

डीबी बुढा

The Karnali highway, which was blocked by falling rocks, has been fully opened

जुम्ला — कर्णाली राजमार्गमा ढुंगा खसेर अवरुद्ध यातायात सेवा सञ्चालनमा आएको छ । तिला गाउँपालिका-१ स्थित रारागाउँ नजिकै बिहान ८ बजे माथिबाट ठूलो ढुंगा खसेर सडक ठप्प  थियो । 

ढुंगाले सडक ओगटेपछि यातायात सेवा रोकिएको थियो । सडक डिभिजन कार्यालयले डोजर लगाएर ढुंगा पन्छाएको हो । 'सडकमा मोटरसाइकल लगायत साना सवारीसाधन आवतजावत भइरहेको भए पनि ठूला सवारी चल्न सकेका थिएनन्,' डिभिजन प्रमुख दीपेन्द्रकुमार चौधरीले भने, ‘डोजर लगाएर सडक खुलाइसकेका छौं ।’

उनका अनुसार रारालिहीदेखि नाग्मसम्मको सडक पहिरोको उच्च जोखिममा रहेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रविनबाबु रेग्मीले सडक खुलिसकेको बताए । ‘साना ढुंगा प्रहरीले हटाइसकेको थियो,' उनले भने, ‘डोजर पुगेर ठूलो ढुंगा हटाएपछि सडक खुलेको छ ।’ अहिले सडकमा यातायातका साधनहरु ओहोरदोहोर गरिरहेका छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully