डेढ महिनायता अवरुद्ध कालिमाटी–दम्दवाली सडक अझै खुलेन

साउन १२ गते र त्यसपछि लगातार परेको वर्षाका कारण ठाउँठाउँमा खसेको पहिरो सम्बन्धित निकायले समयमै हटाउन नसक्दा सडक खुल्न नसकेको हो ।

आश्विन २, २०८२

विप्लव महर्जन

The Kalimati-Damdwali road, which has been blocked for a month and a half, is still not open

What you should know

सल्यान — डेढ महिनायता अवरुद्ध सल्यानको कालिमाटी–बालुवा–दम्दवाली सडक अझै खुल्न सकेको छैन ।

गत साउन १२ गते र त्यसपछि लगातार परेको वर्षाका कारण ठाउँठाँउमा खसेको पहिरो सम्बन्धित निकायले समयमै हटाउन नसक्दा सडक खुल्न नसकेको हो । जसको ठूलो असर कालिमाटी गाउँपालिका-५ दम्दवाली र हात्तीदमारका स्थानीयलाई परेको छ । दुई बस्तीका स्थानीय कार्यालयको कामकाजदेखि व्यापार व्यवसाय र स्वास्थ्योपचारका लागि झन्डै तीन घण्टा हिँडेर गाडी चढ्न बालुवा आउन बाध्य भएका छन् । 

दम्दवालीका स्थानीय तथा शिक्षक सुरेश गाहा मगरले पहिरो हटाउन सम्बन्धित निकायमा माग राख्दै आए पनि कुनै सुनुवाइ नभएको बताए । उनका अनुसार बालुवादेखि दम्दवालीसम्म धेरै स्थानमा पहिरो खसेको छ । सडकमै ठूला ढुंगा थुप्रिएका छन् । खोला बढेकाले हिँडेर आउजाउ गर्न समेत गाह्रो छ । सडक अवरुद्ध भएकै कारण स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्री हुन सकेको छैन ।

सडक अवरुद्ध भएको र लामो समय हिँड्दा गाह्रो हुने भएकाले आफ्नै उपचारका लागि अस्पतालसम्म जान नपाएको हात्तीदमारकी प्रमिला सुनारले बताइन् । दैनिकजसो वर्षा भइरहेकाले तत्काल सडक खुल्ने सम्भावना नदेखिएको उनको भनाइ छ । ‘गाउँमा स्वास्थ्यसंस्था भए पनि स्थानीय एक गर्भवती महिलालाई साताअघि मात्र अस्पताल लैजानका लागि गाडी चल्ने स्थान बालुवासम्म स्ट्रेचरमा पुर्‍याउन धेरै गाह्रो भएको थियो,’ उनले भनिन् । समयमै पहिरो पन्छाउने काम नभए नजिकिँदै गरेको दसैं-तिहार पर्व मनाउन घर फर्कनेलाई धेरै गाह्रो हुने उनको भनाइ छ । 

कालिमाटी-५ का वडाध्यक्ष टोपबहादुर कार्कीले साउन १२ देखि लगातार परेको पानीले बालुवादेखि दम्दवालीसम्म २० भन्दा बढी स्थानमा पहिरो खसेको र बेलाबेलामा वर्षा भइरहेकाले अहिलेसम्म हटाउन नसकिएको बताए । पहिरोले सडक अवरुद्ध भएका कारण वडावासीले विभिन्न किसिमका समस्या भोग्दै आएका उनले जानकारी गराए । नजिकिँदै गरेको पर्वलाई लक्षित गरेर वर्षा रोकिनेबित्तिकै पालिकाको सहयोगमा डोजर लगाएर पहिरो हटाउने तयारी भएको उनको भनाइ छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully