ढुंगा खसेपछि कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला-कालिकोट सडकमा ठूला सवारीसाधन रोकिएका छन् भने यात्रीहरू अलपत्र परेका छन्; ढुंगा पन्छाउन डोजरको तयारी भइरहेको छ।

आश्विन २, २०८२

डीबी बुढा

Karnali highway blocked due to stone fall

जुम्ला — कर्णाली राजमार्ग अन्तर्गत जुम्ला खण्डमा ढुंगा खसेर बाटो अवरुद्ध हुँदा यातायात सेवा अवरुद्ध भएको छ । तिला गाउँपालिका–१ स्थित सडकमा बिहान ८ बजे सडक माथिबाट ठूलो ढुंगा खसेको थियो ।

ढुंगाले पुरै सडक ओगटेपछि यातायात सेवा रोकिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सडकमा मोटरसाइकल लगायतका सानो सवारीसाधन आवतजावत भइरहेको भए पनि ठूला सवारीसाधन चल्न नसकेको डिभिजन प्रमुख इन्जिनियर दीपेन्द्रकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार रारालिहीदेखि नाग्मसम्मको सडक पहिरोको उच्च जोखिममा रहेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रविनबाबु रेग्मीले आधा घण्टादेखि सडकमा ठूला सवारीसाधन चल्न नसकेको बताए । 

उनले भने, ‘साना ढुंगाहरु प्रहरीले हटाइसकेका छन् । ठूलो ढुंगा हटाउन डोजर लगाउनुपर्ने देखिन्छ ।’ डोजर ढुंगा खसेको स्थान नजिकै रहे पनि चालक सदरमुकाम खलंगामा आएको ढुंगा हटाउने कार्य सुरु हुन सकिरहेको छैन । डिएसपी रेग्मीले भने, ‘चालकलाई खबर भइसकेको छ । अबको केही समयभित्रै ढुंगा पन्छाउने काम सुरु हुनेछ ।’ 

अहिले कालिकोट देखि जुम्ला र जुम्लादेखि कालिकोटसम्म जाने दर्जन बढी ठूला सवारीसाधन सडकमै रोकिएका छन् । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully