गगने खोलामा बारम्बारको पहिरोले कर्णालीबासीलाई सास्ती दिएको छ। स्थानीयले वैकल्पिक सडक माग गर्दै सरकारलाई दबाब दिइरहेका छन्।
कालिकोट — कालिकोटको शुभकालिका–१ गगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। वर्षा हुने बित्तिकै लेदो र ढुङ्गासहित झर्ने पहिरोले यात्रुलाई सास्ती हुने गरेको छ।
गएरातिको वर्षाले बुधबार बिहान ३ बजेदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको कालिकोट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरबहादुर सुनारले बताए। हिजो बेलुकीदेखिको वर्षाले बिहान पहिरो गएको हो। उनले भने, पहिरो पन्छाउन जेसीभी मेसिन लगाइसकेको छ।
फेरि गगने खोलामै पहिरो गएकाले सुर्खेत जाने गाडी ८ किमि वर हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका छन्। उनका अनुसार असारयता २८ पटक गगनेमै पहिरो झरेर ३७ दिन सडक अवरुद्ध भएको छ। उनले पानी रोकिएपछि २/३ घण्टामा सडक खुल्ने बताए।
यहाँको पहिरोले कर्णालीबासीलाई निकै सास्ती दिएकोले अछामको भानाकोट हुँदै खुलालु जोड्ने सडक निर्माण गर्नुपर्ने स्थानीयको माग छ। “दिनहुँ झर्ने पहिरोले निकै दुःख पाइयो,” उनले भने।
वैकल्पिक मार्गका रूपमा दैलेखको राकम पुल तरेर अछामको चिल्ताडा–भानाकोट हुँदै खुलालु जोड्ने सडक खोल्नुपर्ने नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले बताए।
पल्लो छालबाट सडक ल्याउन अछामको विनायक पञ्चदेवल नगरपालिका र नरहरिनाथ गाउँपालिकाले सहकार्य गरेर सरकारलाई दबाब दिनुपर्ने उनको सुझाव छ।
