जुम्लाको चन्दननाथमा एक सातादेखि एम्बुलेन्स सेवा ठप्प, बिरामी मर्कामा

स्थानीय करबहादुर खत्रीले बिरामी बोक्ने एम्बुलेन्स प्रदर्शनकारीको निसाना बन्नु दुःखद् भएको बताए ।

आश्विन १, २०८२

डीबी बुढा

Ambulance service stopped for a week in Chandannath in Jumla, patients are in trouble

What you should know

जुम्ला — जुम्लाको चन्दननाथ नगरपालिकाले एक सातादेखि एम्बुलेन्स सेवा दिन सकेको छैन । जेन्जी आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुले पार्किङ गरेर राखेको एम्बुलेन्स तोडफोड गरेपछि सेवा ठप्प भएको हो । एम्बुलेन्स सेवा लिन नपाउँदा बिरामी मर्कामा परेका छन् । 

अहिले महँगोमा गाडी रिजर्भ गरेर अस्पताल पुर्‍याउनु परेको स्थानीयले दुखेसो पोखेका छन् । स्थानीय करबहादुर खत्रीले बिरामी बोक्ने एम्बुलेन्स प्रदर्शनकारीको निसाना बन्नु दुःखद् भएको बताए । उनले भने, ‘प्रदर्शनमा पनि कोही घाइते भएको भए त्यही एम्बुलेन्स चाहिने थियो होला । तर त्यही एम्बुलेन्स नै रहेन ।’

प्रदर्शनकारीहरुले एम्बुलेन्सका सबैतिरका सीसा तोडफोड गर्नुका साथै इन्जीनमा समेत क्षति पुर्‍याएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम्बुलेन्स छैनन् । अहिले चन्दननाथ नगरपालिकाको एम्बुलेन्सले सेवा दिइरहेको थियो,प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले भने, ‘अहिले बिरामी बोक्नुपर्ने देखि महँगोमा गाडी रिजर्भ गरेर बिरामी अस्पताल पुर्‍याउनुपर्ने बाध्यता छ ।’

एम्बुलेन्सले नगरपालिकाभित्रका १० वटै वडाका बिरामी बोक्नुका साथै छिमेकी पालिका र जिल्लाका बिरामीसमेत बोकिरहेको थियो । 'फुर्सदको बेला जताका बिरामीले फोन गरे उत्तैका बिरामी बोकिरहेको थियो,' प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले भने, ‘अहिले बिरामीका आफन्तले फोन गरिरहन्छन् तर एम्बुलेन्स तोडफोड भएकोले सेवा दिन सकिएको अवस्था छैन ।’

चन्दननाथ नगरपालिकाका अनुसार एम्बुलेन्सको बिमा शिखर इन्स्योरेन्स कम्पनीमा गरिएको थियो । बिमाले पनि सर्भे गरिसकेको छ । ग्यारेजले स्टमेट गरेर पठाइसकेको छ । उनले भने, ‘बारम्बार बिमा कार्यालयमा गएर एम्बुलेन्स छिटो मर्मत गर्नुपर्ने भन्दै दबाब दिइरहेका छौं ।’

नगरपालिकाले क्षतिको विवरण पठाइसकेको छ । नगरप्रमुख राजुसिंह कठायतले हप्ता दस दिनभित्र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने गरेर तयारी भइरहेको छ । प्रहरीले पनि एम्बुलेन्समा भएको क्षतिको मुचुल्का गरिसकेका छन् । जसअनुसार ५ लाख रुपैयाँ बराबरको सामानहरु क्षति भएको देखिएको छ । स्थानीयले पनि अरु सवारी साधनभन्दा छिटो एम्बुलेन्स बनाउनुपर्ने माग गरेका छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully