आगजनीपछि सुर्खेतका एक दर्जन सरकारी कार्यालयको सेवा ठप्प 

आगजनीका कारण सबै संरचना नष्ट भएपछि नापी कार्यालयसहित कर्णाली प्रदेशसभा सचिवालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, वीरेन्द्रनगर नगरपालिकाका ८ वटा वडा कार्यालयको सेवा प्रवाह ठप्प भएको हो ।

भाद्र ३१, २०८२

कृष्णप्रसाद गौतम

Services of a dozen government offices in Surkhet stopped after the arson

What you should know

सुर्खेत — भदौ २४ को प्रदर्शनका क्रममा भएको आगजनीपछि सुर्खेतका झण्डै एक दर्जन सरकारी कार्यालयको सेवाप्रवाह ठप्प भएको छ ।

आगजनीका कारण सबै संरचना नष्ट भएपछि नापी कार्यालयसहित कर्णाली प्रदेशसभा सचिवालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, वीरेन्द्रनगर नगरपालिकाका ८ वटा वडा कार्यालयको सेवा प्रवाह ठप्प भएको हो । 

वडा कार्यालयहरु र नापी कार्यालयको सेवा प्रवाह बन्द भएपछि सेवाग्राही रित्तो हात फर्कन थालेका छन् । कार्यालयका सबै कोठा, कागजात, फर्निचर, विद्युतीकरण, नेटवर्कलगायतका सामग्री जलेपछि अनिश्चितकालका लागि सेवा प्रवाह रोकिएको नापी कार्यालय सुर्खेतका अधिकृत दिनेशकुमार भण्डारीले बताए । ‘कार्यालयको सेवा बन्द भएपछि जग्गापासको काम पुरै रोकिएको  छ, कित्ताकाट, जग्गा नापनक्सांकन लगायतका काम समेत अवरुद्ध भएका छन्,’ उनले भने, ‘पुरै संरचना ध्वस्त भएकाले कार्यालयको काम कहिलेदेखि सुरु हुन्छ अहिले भन्न सकिन्न ।’ 

प्रदर्शनकारीले वीरेन्द्रनगर नगरपालिकास्थित वडा नं.१, २, ३, ६, ७, ८, ९ र ११ नम्बर वडा कार्यालयमा आगजनी गरी पूर्णरुपमा क्षतिग्रस्त बनाएका छन् । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले नगरपालिका कार्यालयमा तोडफोड मात्र भए पनि वडा कार्यालयमा आगजनी गरिएका कारण सेवाप्रवाहमा समस्या भएको बताए । ‘अधिकांश वडा कार्यालय ध्वस्त छन्, वडाको सिफारिसका आधारमा अधिकांश काम हुने भएकाले नगरपालिकाको सेवाप्रवाहमा पनि समस्या भएको छ,’ उनले भने, ‘आगजनी भएका वडा कार्यालयबाट तत्काल सेवादिन समस्या भयो, वैकल्पिक तरिकाले सेवा दिन पनि कम्तीमा एक हप्ता लाग्ला ।’ 

उनले सबै वडा कार्यालयमा भएको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए । उनकाअनुसार नगरपालिकाभित्रै वडा कार्यालयका कार्यकक्ष स्थापना गरी सेवा सञ्चालन गर्न पहल भइरहेको छ । वीरेन्द्रनगर नगरपालिका–६ का वडाध्यक्ष जनकबहादुर रावलले वडा कार्यालयबाट सेवाप्रवाह गर्न कम्तीमा एक महिना लाग्ने बताए । 

अहिले संसद् अधिवेशन नभए पनि आगजनीका कारण दैनिक प्रशासनिक कामकाज सञ्चालन, संसदीय समितिहरुको बैठकलगायतका काम ठप्प भएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काले बताए । उनले क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully