सुरक्षा प्रमुखहरुलाई मुख्यमन्त्री कँडेलले भने-‘नागरिक त्रसित छन्, आश्वस्त पार्नुहोस्’

मुख्यमन्त्री कँडेलले आन्दोलनका नाममा भएको हिंसा र तोडफोडका कारण नागरिक त्रसित रहेकोले आश्वस्त पार्ने गरी काम गर्न चारैवटै सुरक्षा निकायलाई निर्देशन दिए ।

भाद्र ३१, २०८२

ज्योति कटुवाल

Chief Minister Kandel told the security chiefs - 'Citizens are panicked, reassure them'

What you should know

सुर्खेत — जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न पछिल्लो अवस्थाबारे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशस्थित सुरक्षा निकायहरुसँग छलफल गरेका छन् ।

मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले आन्दोलनका नाममा भएको हिंसा र तोडफोडका कारण नागरिक त्रसित रहेकोले आश्वस्त पार्ने गरी काम गर्न चारैवटै सुरक्षा निकायलाई निर्देशन दिए ।

मुख्यमन्त्री कँडेलले उद्देश्य राम्रो  भएपनि आन्दोलनको नाममा भएको हिंसा र तोडफोडले मुलुकले अकल्पनीय क्षति व्यहोर्नु परेको र नागरिक अझै पनि भयभीत अवस्थामा रहेकोले जनजीवन सामान्यकृत हुने गरी आफ्ना गतिविधि संचालन गर्न चारवटै सुरक्षा निकायलाई सुझाव दिए । उनले भने, ‘जेनजी पुस्ताको आन्दोलनका नाममा भएका हिंसात्मक कामहरुको अनुसन्धान र कारबाहीका कामहरु हुन्छन् नै, तर त्यसपछि पनि नागरिक त्रासमा छन्, यो अवस्थाबाट माथि उठाएर आश्वस्त पार्ने काममा तपाईंहरु लाग्नुस् ।’ 

मुख्यमन्त्री कँडेलले थप शान्ति सुरक्षा बिग्रन नदिन प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने सुरक्षा प्रमुखहरुलाई आश्वस्त पारे । उनले भने, ‘तपाईंहरुको तालुकदार निकाय संघीय सरकार होला तर प्रदेशको शान्ति, सुव्यवस्था कायम गर्ने सन्दर्भमा तपाईंहरुलाई आवश्यक सहजीकरण गर्न प्रदेश सरकार तयार छ । ’

मुख्यमन्त्री कँडेलले शान्तिपूर्ण प्रदर्शनबाहेक हिंसात्मक गतिविधि नियन्त्रणमा राज्यले आवश्यक पहल लिनुपर्ने भन्दै माथिल्लो तहको आदेशको अन्योलले जिल्लाका सुरक्षाकर्मीले भोगेको अवस्थाबारे आफू जानकार रहेको बताए । उनले भने, ‘नहुनुपर्ने क्षति भयो, सुर्खेतमा सीमित जनशक्तिले आफ्नो मिहिनेतले थप क्षति रोक्नु पनि भयो तर जसले तपाईंहरुलाई परिचालन गर्नुपर्ने थियो उसैले लत्व छाडेपछि तपाईंहरुको नियन्त्रणमा रहेन ।’ 

मुख्यमन्त्री कँडेलले अन्यत्रभन्दा क्षति कम गराउन सफल भएकोमा सुरक्षाकर्मीहरुलाई धन्यवाद पनि दिए । उनले यतिबेला आग्रह, पूर्वाग्रह र प्रतिशोधभन्दा संयम र धैर्यताको खाँचो भएकोले सुरक्षाकर्मी संयमका साथ अगाडि बढ्नुपर्ने धारणा राखे । उनले भने, ‘आन्दोलनका नाममा भएका आगजनी र लुटपाटमा पूर्वाग्रह नराखेरै अनुसन्धान गर्न र कानुनबमोजिम कारबाही गर्न तपाईंहरुलाई माथिको आदेश पर्खनु पर्देन, पूर्वाग्रह नराखेर अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुस् ।’ 

छलफल कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर आचार्यसहित प्रदेशस्थित सुरक्षाका प्रमुखहरुको उपस्थिति थियो ।

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully