जुम्लामा भेटिएको सकेट बम सेनाले पार्‍यो निष्क्रिय

शनिबार बेलुकी जिल्ला समन्वय समितिको पर्खाल बनाउने कामदारले सकेट बम फेला पारेका थिए ।

भाद्र २२, २०८२

डीबी बुढा

Army defuses socket bomb found in Jumla

जुम्ला — जिल्ला समन्वय समिति जुम्लाको कार्यालय परिसरमा फेला परेको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको छ । नेपाली सेनाको देवीदत्त गणको बम डिस्पोजल टोलीले बम निष्क्रिय बनाएको हो । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालले बम नेपाली सेनाले डिस्पोज गरेको बताए ।बम भेटिएपछि सेनाको टोली बिहानै जिल्ला समन्वय समितिको कार्यालयमा पुगेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि बम भेटिएको स्थानमा पुगेमा थिए ।

शनिबार बेलुकी समन्वय समितिको पर्खाल बनाउने कामदारले सकेट बम फेला पारेका थिए । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सकेट बम फेला पर्नेबित्तिकै प्रहरी र सेनालाई जानकारी दिइएको बताए । ‘सेनाले बम डिस्पोज गरेपछि कर्मचारीले सुरक्षित महसुस गरेका छन्,’ उनले भने ।

यो बम संकटकालमा माओवादीले छाडेको हुन सक्ने आशंका गरिएको छ ।  

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully