सुर्खेतमा नक्कली बिहे गराई ठग्ने दुई पक्राउ

दैलेख र अछामका दुई व्यक्ति नक्कली आमाबाबु बनेर ठगी गरेको आरोपमा पक्राउ परेका छन्। उनीहरूबाट नगद र गरगहना बरामद भएको छ।

भाद्र १९, २०८२

ज्योति कटुवाल

Two arrested in Surkhet for making fake marriages

सुर्खेत — सुर्खेतमा प्रहरीले नक्कली बिहे गराई ठग्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले एउटै महिलालाई फरक–फरक मितिमा विभिन्न पुरुषसँग बिहे गराई ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको जानकारी दिए ।

फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत नक्कली आमाबाबु र छोरी बनेर नगद र गरगहना लिने उद्देश्यले ठगी गरेको उजुरी परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा दैलेख साँडु घर भई वीरेन्द्रनगर–१० बस्ने ४० वर्षीय गोपालकुमार विक र अछामको तुर्माखाँद–३ घर भई वीरेन्द्रनगर–१० बस्ने ३८ वर्षीया भविसरा रास्कोटी मगर रहेका छन् । प्रहरीले उनीहरूविरुद्ध आपराधिक लाभ तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

विक र मगरले आमाबाबु बनेर ठगी गरेको खुलेको छ भने दुलही बनेकी महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता बुढथापाका अनुसार उनीहरूको साथबाट बिहेमा प्रयोग हुने कपडा, सुनका गरगहना र बिहे गर्दाका फोटोहरू बरामद गरिएको छ ।

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully