स्याउ बोकेका ट्रकहरु र अन्य गाडीहरु कालिकोटको सडक खुल्नासाथ सुर्खेततर्फ अघि बढेको व्यवसायी खत्रीले बताए।
कालिकोट — पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्गको गगने खोला सडक खुलेको छ। गत शनिबार बेलुकी ९ बजेदेखि पहिरोले अवरुद्ध राजमार्ग मंगलबार दिउँसो १ बजेदेखि सुचारु भएर बेलुकी ६ बजे पुनः अवरुद्ध भएको सडक बुधबार बिहान १०:३० बजे सञ्चालनमा आएको कालिकोटका डिएसपी टेकबहादुर रावतले बताए।
उनका अनुसार रोकिएका सबै गाडी गन्तव्यतर्फ लागेका छन्।
पहिरोसँगै झरेको ढुंगा सेनाले सोमबार र मंगलबार बिहान विस्फोट गरेपछि सडक सञ्चालनमा आएको हो। सडक सञ्चालन भएपछि स्याउ बोकेर आएका ट्रक पनि सुर्खेततर्फ लागेको व्यवसायी रामबहादुर खत्रीले बताए।
सडक डिभिजन कार्यालय जुम्लाले डोजर लगाएर पहिरो हटाएको र सेनाले ढुंगा विस्फोट गरेपछि सडक सुचारु भएको कालिकोटका प्रजिअ गोकर्ण राज सुयलले बताए।
