कर्णालीमा विद्यार्थीमाझ लोक सेवा आयोग कार्यक्रम

प्रदेश राजधानीबाट सुरु गरिएको कार्यक्रम जिल्ला, पालिका हुँदै वडासम्म पुर्‍याउने उद्देश्य रहेको आयोगले जनाएको छ ।

भाद्र १८, २०८२

तृप्ति शाही

Public Service Commission program among students in Karnali

What you should know

वीरेन्द्रनगर — कर्णालीमा विद्यार्थीमाझ लोक सेवा आयोग कार्यक्रम सुरु गरिएको छ । आयोगको हीरक जयन्ती वर्ष २०८२ र ७५ औं वार्षिकोत्सवको अवसरमा सुरु गरिएको कार्यक्रम लोकसेवा आयोग पहुँचअन्तर्गतको हो । बुधबार एक कार्यशालाबीच वीरेन्द्रनगरमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र सदस्य दिनेश सिलवालको उपस्थितिमा कार्यक्रम सुरुवात गरियो ।

प्रदेश राजधानीबाट सुरु गरिएको कार्यक्रम जिल्ला, पालिका हुँदै वडासम्म पुर्‍याउने उद्देश्य रहेको आयोगले जनाएको छ । आयोगको कार्यप्रणाली र सिद्धान्तको बारेका विद्यार्थी र सरोकारवालाहरूलाई जानकारी दिने उद्देश्यले देशका ७ वटै प्रदेशमा कार्यक्रम आयोजना गरिएको सहसचिव पुरुषोत्तम शर्माले जानकारी दिए । 

कार्यक्रममा कर्णालीका १० वटै जिल्लास्थित सदरमुकाममा रहेका पालिकाका २ जना छात्रा अनिवार्य गरेर ५ जना सहभागी छन् । यस्तै मध्यपश्चिम विश्वविद्यालयको विभिन्न विभागअन्तर्गतका विद्यार्थी, प्राविधिक शिक्षातिरका विद्यार्थीको सहभागिता छ ।

कार्यक्रमपश्चात् आयोगले सहभागी विद्यार्थीहरुलाई आयोगको नवोदित मित्रको रूपमा स्वागत गर्नेछ । उनीहरूलाई आयोगबारे विद्यालयसँगै अन्य साथीहरूलाई पनि जानकारी गराउने अपेक्षा गरिएको शर्माले बताए । युवा शक्तिलाई आयोगमा जोडिएर देशमै सेवा गर्न प्रेरित गर्ने अपेक्षा गर्दै कार्यक्रममा विद्यार्थीहरूलाई बोलाइएको हो । उनले भने,‘दूर दराजका युवाहरू पनि आयोगबाट परीक्षा दिएर विभिन्न सरकारी क्षेत्रमा प्रवेश गरुन् भन्ने हाम्रो उद्देश्य हो । आयोगको निष्पक्षता र स्वच्छतालाई जानकारी दिएर सेवा प्रवेश गर्नेहरु बढुन् भन्ने चाहना छ ।’

Public Service Commission program among students in Karnali

युवापुस्तालाई लोकसेवा आयोगका परीक्षा आकर्षित गर्न कार्यक्रम आयोजना गरिएको सुर्खेत कार्यालयका प्रमुख रुद्रबहादुर कार्कीले बताए । विद्यार्थीहरूलाई सरकारी सेवामा आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको उनको भनाइ छ । आयोगको परीक्षा दिनेको संख्या नघटे पनि आनुपातिक रूपमा नबढेको उनले बताए । युवा विद्यार्थीहरुमाझ लोकसेवा आयोगले लिने परीक्षामा आवेदन दिन उत्साह बढाउने एवं सार्वजनिक सेवाप्रति आकर्षण र विश्वास बढाई उत्कृष्ट कर्मचारीको छनौट र नियुक्ति सुनिश्चित गर्ने योजनाअनुसार आयोगले कार्यक्रम गरिरहेको उनले बताए । 

लोकसेवा आयोगको कारण नै सामान्य परिवार र स्थानका नागरिक देशको उच्च ओहदामा पुगेको स्मरण गर्दै आयोगका अध्यक्ष रेग्मीले निष्पक्ष छवि बनाएको आयोगमा युवापुस्ताले जोडिनुपर्ने आवश्यक रहेको धारणा राखे । मिहिनेत र क्षमता भयो भने लोकसेवामा प्रवेश गर्न जटिल नभएको उनले बताए । 

लोकसेवा आयोग विद्यार्थीमाझ गएर सिस्टम र पद्धतिबारे जानकारी गराउने र उनीहरूलाई यसमा प्रेरित गर्ने उद्देश्य भएको उनले बताए । १६ देखि २७ गतेसम्म सबै प्रदेशमा यस्तै कार्यक्रम गरिने छ । साथै उनले स्थानीय तहलाई जिल्ला, पालिका र वडामा कार्यक्रम गर्न आग्रह गरे । यसमा आयोगको प्रतिनिधि पठाएर सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमपश्चात् युवा विद्यार्थीहरूमाझ सार्वजनिक सेवाप्रति आकर्षण र विश्वास बढ्ने अपेक्षा गरिएको छ । 

कर्णालीका लोकसेवामा जोडिने सबैभन्दा बढी नागरिक दैलेखका छन् । दैलेख देशभर सातौं स्थानमा छ भने सुर्खेत १३ औं र रुकुम पश्चिम १४ औं स्थानमा छ । 

कार्यक्रममा कर्णालीका पालिकाका प्रमुख, उपप्रमुख एवं प्रतिनिधिको पनि सहभागिता छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully