सात परिवार विस्थापित भइसकेका छन् भने मान्म बजार आउने बाटो ३ महिनादेखि ठप्प भएको छ ।
What you should know
कालीकोट — कालीकोट सदरमुकाम मान्ममा पर्ने खाँडाचक्र नगरपालिकाको नयाँ भवन निर्माणको लागि जग खन्दा ७ घर पहिरोको उच्च जोखिममा परेका छन् ।
मान्म बजारको घाम ताप्नास्थित जमिनमा नगरपालिकाको नयाँ भवन निर्माणका लागि भएको ठेक्काअनुसार जग खन्ने क्रममा वर्षाले पहिरो जाँदा स्थानीयका पक्की घर जोखिममा परेका हुन् ।
खाँडाचक्र-१ सेरापाटास्थित जमिनमा नगरको भवनका लागि डोजर लगाएर 'फाउन्डेसन' खन्दा कर्णप्रसाद चौलागाईं, कालीबहादुर शाही, भवानीप्रसाद आचार्य, नरप्रसाद चौलागाई, गंगाराम आचार्य, लालप्रसाद पोख्रेल र हर्कबहादुर शाहीका पक्की घर पहिरोको उच्च जोखिममा छन् । तीमध्ये कालीबहादुर शाही र कर्णप्रसाद चौलागाईंको परिवारसहित भाडामा बस्ने व्यक्तिहरू विस्थापित भएर आफन्तको घरमा बसिरहेका छन् ।
'नगरपालिकाको भवन निर्माणका लागि वर्षाका समयमा डोजर लगाएर पहिरो निम्त्याउने काम भयो,' सुभकालिका-४ स्थायी घर भएका चौलागाईंले भने, 'मेरो परिवार नै विस्थापित भइसक्यौं ।' उनले आफ्नो घर भाडामा बस्ने ८ परिवार पनि अन्यत्र सरेको गुनासो पोखे ।
नगरपालिकाले जग खनेको क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सर्नुपर्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए । 'जोखिम भएकाले सुरक्षित ठाउँमा बस्न भनेका छौं,' उनले भने, 'जति बेला पनि घर भत्किन सक्ने अवस्था छ ।'
सदरमुकाम मान्म बजारको पूर्वमा पर्ने सेरापाटामा खाँडाचक्र नगरपालिकाकाले भवन निर्माणका लागि भ्याटसहित २५ करोडको ठेक्का आह्वान गरेकामा काठमाडौंको आरएनसीएस बिल्डर्सले १९ करोडमा ४० महिनाको समयावधिमा काम सक्ने गरी ७ तले भवन निर्माणको ठेक्का लिएको खाँडाचक्र नगरपालिकाका इन्जिनियर सुमित भट्टले बताए । 'सम्झौता भएको ६ महिना भयो,' उनले भने, 'जग खन्ने क्रममा पहिरो गएर समस्या भएको छ ।' उनका अनुसार निर्माण व्यवसायीका प्रतिनिधिले अलिबहादुर शाहीले नगरपालिकाबाट १ करोड ५० लाख पेस्की लिएर ३० लाख फर्स्यौट भएको सुनाए । उनका अनुसार जग खन्दा बजार जाने बाटोसहित स्थानीयका घर जोखिममा परेपछि वैशाखदेखि काम रोकिएको छ ।
नगर पालिकाकाले माथिपट्टि छुट्टै २० लाखको ठेक्का गरेर १६ लाखमा मेसिनरी पर्खालको जिम्मा स्थानीय व्यवसायी मानबहादुर शाहीलाई दिएकामा यति बेलाको वर्षाले पर्खाल भत्काएको छ । उनले असारमै काम सके पनि रकम नपाएको गुनासो पोखे । 'काम असारमै सकेको हो,' उनले भने, 'नगरले भुक्तानी अझै दिएको छैन ।'
नगरको भवनका निर्माणका क्रममा मान्म बजार जाने सडक भत्किएपछि बजारका व्यवसायी मर्कामा परेका छन् । कर्णाली राजमार्गबाट बजारसम्म साना गाडी र मजदुरबाट सामान ढुवानी गर्दा प्रतिगाडी २ हजार महँगो पर्ने खाद्य तथा खुद्रा व्यापारी मोहन न्यौपानेले बताए । 'मान्म बजार त्यसै त संकटमा छ,' उनले भने, 'झन् बाटो अवरुद्ध हुँदा महँगी पनि बढेको छ ।'
यसैबीच, नगरको कामले मान्म बजार आउने बाटो अवरुद्ध भएको र स्थानीयका घर पहिरोको जोखिममा परेको गुनासोपछि शुक्रबार प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वैपल्पिक उपायसहित नगरपालिकालाई योजना बनाउन र तत्काल घर बचाउन पालको व्यवस्था गर्ने निर्णय गरेको छ ।
