भारत रुद्रप्रयागमा बाढीपहिरो जाँदा सल्यानका बाबुछोरासहित ३ बेपत्ता

तीनैजना गत साउन १६ गते खेतीपाती सकेर दसैं खर्च जोहो गर्न मजदुरीका लागि रुद्रप्रयागको पूर्वी बागर छेनागाड गएका थिए ।

भाद्र १६, २०८२

विप्लव महर्जन

3 missing with father and son of Salyan due to landslides in India's Rudraprayag

सल्यान — भारतको उत्तराखण्ड रुद्रप्रयाग जिल्लाको छेनागाडमा गत शुक्रबार राति आएको बाढीपहिरोमा परी सल्यानका तीन जना बेपत्ता भएका छन् ।

घटनामा सल्यानको बन्गाड कुपिन्डे नगरपालिका-६ कालागाउँका ४९ वर्षीय शरद आग्री, उनका छोरा २४ वर्षीय दीपक र वडा नं ५ राउचेका ६९ वर्षीय भीमबहादुर बुढा बेपत्ता भएका हुन् ।

तीनैजना गत साउन १६ गते खेतीपाती सकेर दसैं खर्च जोहो गर्न मजदुरीका लागि रुद्रप्रयागको पूर्वी बागर छेनागाड गएका थिए । 

'शुक्रबारदेखि नै बुबा र दाइ बेपत्ता भएका र अहिलेसम्म सम्पर्कमा आउन नसकेको उता रहेका नेपालीले खबर गरेका छन्,' शरदका छोरा दुर्गा आग्रीले भने, 'अहिलेसम्म सम्पर्कमा आउन नसकेपछि खोजीका लागि म पनि भारत लागेको छु ।' 

बेपत्ता भीमबहादुरका छोरा सुरेश बुढाले खोजीमा लाग्न स्थानीयलाई समेत आग्रह गरेका छन् । उनी पनि भारत जाँदै छन् । 

भदौ १२ गते राति छेनागाडमा भारी वर्षा भएको थियो । बाढीपहिरो जाँदा त्यहाँका धेरै घरमा क्षति पुगेको र आठ जना बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले भने पहिरोमा परी आठ जना बेपत्ता भएको जानकारी आए पनि सल्यानका कति परे अहिलेसम्म कसैले जानकारी नगराएको बताएका छन् । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully