वर्षाका कारण वैकल्पिक मार्गमा समेत गाडी चल्न नसक्ने भएपछि यात्रु थप समस्यामा परेका छन् ।
सल्यान — रातिदेखिको वर्षासँगै खसेको पहिरोका कारण राप्ती राजमार्ग शुक्रबार बिहान ११ बजेदेखि अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै पर्ने बाँसबारी घुम्तीमा पहिरो खसेपछि राप्ती राजमार्ग अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारी साधन सडकमै रोकिएका छन् । वर्षाका कारण वैकल्पिक मार्गमा समेत गाडी चल्न नसक्ने भएपछि यात्रु थप समस्यामा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले पहिरो हटाउन अहिले डोजर पठाइसकिएको जानकारी गराए ।
वर्षा हुनेबित्तिकै चोरखोलादेखि राम्रीबीचमा जाने पहिरोका कारण सल्यान, रोल्पा, रुकुम र दाङवासीले सास्ती भोग्दै आएका छन् । रातिदेखिको वर्षाले जिल्लाका अन्य ग्रामीण सडकमा पनि पहिरो खसेको र केही सडक हिलाम्मे भएकाले यात्रुलाई गाडीमा आउजाउ गर्न कठिनाइ भएको बस्नेतले बताए ।
