कर्णाली राजमार्गको पहिरोले स्याउ बोकेका ट्रकहरू बाटोमै रोकिए, वर्षाले सडक मर्मत अवरुद्ध पारेको छ।
कालीकोट — वर्षाले दुई दिनअघि भासिएर बिहीबार सञ्चालनमा ल्याइएको कर्णाली राजमार्गको कालेखोला सडकखण्ड शुक्रबार पुनः अवरुद्ध भएको छ। पहिले भत्किएको सडकको डिलतिरको भाग पुनः भत्किएपछि सडक अवरुद्ध भएको हो।
बिहीबार दिउँसोदेखि दुई वटा मेसिनले सडक भित्तातिरको माटो खोर्सेर साना गाडी चल्ने बनाएको भए पनि राजमार्ग शुक्रबार रातिको वर्षाले पुनः भत्किएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए । उनका अनुसार जिप, हाइस, एम्बुलेन्स पनि छिर्न नसक्ने अवस्था छ।
सुर्खेत–नेपालगञ्जबाट खाद्यान्न तथा निर्माण सामग्री र जुम्लाबाट स्याउ बोकेर आएका ट्रक बाटोमै रोकिएका छन्। सडक पहिरोले अवरुद्ध हुँदा जुम्लाबाट खरिद गरेर ल्याइएका स्याउ कुहिने डर भएको व्यवसायी नरेश न्यौपानेले गुनासो पोखे।
'१० टन जुम्लाको स्याउ खरिद गरेर ल्याइयो,' उनले भने, 'सडक अवरुद्ध भएकोले बाटोमै कुहिने डर भयो।' कालीकोटको कालेखोलामा अवरुद्ध सडक सञ्चालन गर्न सडक डिभिजन कार्यालय जुम्लाले मेसिन तयारी अवस्थामा राखे पनि वर्षा नरोकिएकोले काम सुरु भएको छैन।
गएको रातिको वर्षाले कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको कालेखोला र हुल्मको बीचमा पहिरो नजाने ठाउँमा सडक भासिएर दुःख पाइएको मान्मबाट सुर्खेत जान हिँडेका चालक दमन देवकोटाले बताए।
