पत्रकार महासंघ रुकुम पश्चिमको सम्पर्क कार्यालयमा ५ महिनाअघि लगाइएको ताला खुल्यो

विभिन्न माग राख्दै प्रेस युनियन, प्रेस चौतारी र समाजवादी प्रेस संगठनले चैत ५ गते लगाएको ताला खुलेको जानकारी महासंघले विज्ञप्तिमार्फत गराएको छ ।

भाद्र १२, २०८२

महेश केसी

The lock that was imposed 5 months ago on the liaison office of Journalist Federation Rukum West has been opened

रुकुम पश्चिम — नेपाल पत्रकार महासंघ रुकुम पश्चिम जिल्ला शाखाको सम्पर्क कार्यालयमा विगत ५ महिनाअघि लगाइएको ताला बिहीबारबाट खुलेको छ ।

विभिन्न माग राख्दै प्रेस युनियन, प्रेस चौतारी र समाजवादी प्रेस संगठनले चैत ५ गते लगाएको ताला खुलेको जानकारी महासंघले विज्ञप्तिमार्फत गराएको छ । जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका–१ स्थित खलंगा बजारको निजी घरमा रहेको महासंघको सम्पर्क कार्यालयमा कांग्रेस निकट प्रेस युनियन, एमाले निकट प्रेस चौतारी र एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनले तालाबन्दी गरेका थिए । 

‘साधारण सदस्यको शुद्धिकरण तथा सिफारिस, जिल्ला शाखाभित्रको आर्थिक पारदर्शिता, समानुपातिक विज्ञापन प्रणाली र जिल्ला कार्यसमितिमा मनोनीत सदस्यमा वर्तमान शाखाले मनोमानी गरेको’ आदि माग राखी कार्यालयमा लगाएको ताला खुलेको सचिव दिपेन्द्र महतराले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । 

‘आन्दोलनरत विभिन्न संगठन र पत्रकार महासंघबीच पटकपटक भएको छलफल र वार्ताको निष्कर्षअनुसार संगठनहरुले राखेका मागका सम्बन्धमा पत्रकार महासंघ सकारात्मक रहेको र आगामी दिनमा सुधार गर्दै लैजाने दुवै पक्षको प्रतिबद्धतामा सहमति भएर तालाबन्दी खुलेको हो,’ विज्ञप्तिमा भनिएको छ ।

साथै जिल्लामा सञ्चारमाध्यमको विकास र विस्तार तथा पत्रकार आचारसंहिताको परिपालनाले मात्रै रुकुमेली सञ्चार क्षेत्रको हित हुने विषय विज्ञप्तिमा उल्लेख गरिएको छ । सरोकारवाला सबैलाई एक–आपसमा सहयोग, सहकार्य र एकताबद्ध हुन अपिल पनि गरिएको छ । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully