भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वडा कार्यालय भवन निर्माण ठेक्कामा अनियमितता गरेको भन्दै नगरपालिकाका ६ जना र ठेकेदार कम्पनीका २ जना साझेदार गरी ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भाद्र १२, २०८२

तृप्ति शाही

Corruption case against 8 people including chief administrative officer on behalf of Bheri municipality

वीरेन्द्रनगर — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित ८ जना विरुद्ध भ्रष्टाचार मुदा दायर गरेको छ ।

वडा कार्यालय भवन निर्माण ठेक्कामा अनियमितता गरेको भन्दै नगरपालिकाका ६ जना र ठेकेदार कम्पनीका २ जना साझेदार गरी ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले उनीहरुविरुद्ध ३६ लाख २० हजार ५७८ रुपैयाँ १० पैसा बिगो माग गर्दै बिहीबार  विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर जनाएको छ । आयोगका अनुसार उनीहरुले आर्थिक वर्ष २०८०/८१ मा भेरी नगरपालिकाको वडा नम्बर ६, ९ र १० को वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानुन तथा नियमावलीको गम्भीर उल्लंघन गरी भ्रष्टाचार गरेको पाइएको छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्यमा नगद तथा अन्य प्रकृतिको गैरकानुनी लाभ लिने मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको हुँदा मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत घर्तीसहित इन्जिनीयर मोहन मल्ल, कानुन अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्रबहादुर कठायत, जिन्सी शाखा प्रमुख कृतिबहादुर थापा र ठेकेदार कम्पनीका गंगाकुमारी खड्का र चित्रबहादुर बोहराविरुद्ध मुद्दा दायर गरेको हो ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully