वडाध्यक्षको टोलीले बजेट संशोधन माग गर्दै गाउँपालिकासँग वार्ता र आन्दोलन जारी राखेको छ, सेवाप्रवाहमा अवरोध पुगेको छ।
What you should know
जुम्ला — बजेट संशोधनको माग गर्दै जुम्लाको सिँजा गाउँपालिकामा तालाबन्दी गरिएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यकर्ता पोस्न केन्द्रित हुनेगरी ल्याएको भन्दै चारजना वडाध्यक्ष सहितको टोलीले बुधबार ताला लगाएको हो ।
ताला लागेपछि कामकाज प्रभावित बनेको छ । बिहानै १० बजेदेखि नै कार्यालयमा ताला लागेकोले नियमित काम हुन सकिरहेको छैन । असार ३१ गते पारित भएको बजेट संशोधन नहुँदासम्म ताला नखोल्ने चेतावनी उनीहरुको छ ।
आन्दोलनरत पक्षले बजेटमा बहुमतको दम्भ देखाएको, समान बजेटको व्यवस्थापन हुन नसकेको, कार्यकर्ता पोस्याउने बजेट ल्याएको, टोलस्तरीय बजेटको व्यवस्था नभएको र सबै तहका शिक्षक र स्वास्थ्यकर्मीको व्यवस्थापन हुन नसक्दा प्रभावकारी रुपमा सेवा प्रवाह हुन नसकेको आरोप लगाएको छ ।
उत्पादनमुलक बजेटको मागसहित आफूहरु आन्दोलनमा उत्रिएको सिँजा ६ का वडाध्यक्ष लालबहादुर बुढाले जानकारी दिए । ‘पहिले सहमति अनुसार नै बजेट बनेको थियो,’ वडाध्यक्ष बुढाले भने, ‘पछि माओवादी नेता कार्यकर्ता बसेर आफू अनुकुलको कार्यकर्ता पोस्याउने बजेट ल्याए ।अनि बाध्य भएर आन्दोलनमा उत्रिनुपर्ने भयो ।’
‘बजेट बनाउनुअघि नयाँ सडक खन्दा पालिकाकै डोजर प्रयोग गर्ने, डोजरमा चाहिने तेलको प्रबन्ध गर्ने गरी बजेट ल्याउने सहमति थियो,’ वडाध्यक्ष बुढाले थपे, ‘तर सडकको नाममा बजेट छुट्याइयो ।’ उनीहरुले गाउँसभा बहिस्कार, सडकमा नाराबाजी गर्ने, विज्ञप्ति प्रकाशन, अल्टिमेटम सहितको ज्ञापनपत्र दिने कार्यक्रम गरेका थिए ।
दैनिक आन्दोलन हुन थालेपछि उपाध्यक्ष सितली रोकायाको संयोजकत्वमा वार्ता समिति बनेको थियो । उनीसँगै पालिकाका प्रवक्ता तथा सिँजा २ का वडाध्यक्ष तिर्थ वड र ३ का वडाध्यक्ष सुरतबहादुर रावत सदस्य छन् ।
वार्ता समितिले भदौ ९ गते आन्दोलनरत पक्षसँग वार्ता बोलायो । तर वार्तामा धम्कीपूर्ण शब्दहरु प्रयोग गर्नेदेखि बजेटको पक्षधरले टेबुल ठट्याउने सम्मको काम गरको आरोप आन्दोलित वडाध्यक्षको छ ।
६ वटा वडा रहेको सिँजामा ४ वटा वडाध्यक्ष बजेटको विपक्षमा छन् । पालिकामा जनप्रतिनिधिबीचको विवाद भन्दा पनि नेकपा माओवादी केन्द्रका एकातिर र त्यो इतरका सबै दलका जनप्रतिनिधि अर्कोतिर उभिएका छन् । बजेट पारीत गर्दा दुवै पक्षका १४/१४ जना मात्रै उपस्थित थिए ।
तर गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले आफू बजेटको पक्षमा उभिएको भनेपछि बजेट पारीत भएको थियो । सिँजा गाउँपालिकाको गाउँसभामा १८ जना माओवादी केन्द्र र १६ जना अन्य पार्टीका जनप्रतिनिधि छन् ।
यता आन्दोलनरत पक्षले नेपाली कांग्रेस गाउँपालिका समितिका सभापति गोविन्द शर्माको नेतृत्वमा ५ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।अध्यक्ष धितालले पास भइसकेको बजेटबारे संशोधनका लागि अब छलफल नहुने बताए ।
