विद्यालय पहिरोको जोखिममा रहेकाले ठाउँ हेरेर अन्यत्र सार्ने विषयमा छलफल सुरु भएको छ ।
कालीकोट — पहिरोले भवन भत्किएपछि बन्द भएको नरहरिनाथ-६ माल्कोट रातीमाटास्थित शान्ति मावि आइतबारदेखि खुलेको छ । गत सोमबार बेलुकी विद्यालय माथिबाट झरेको पहिरोले दुईकोठे पक्की भवन भत्किनुका साथै खानेपानी, फर्निचरलगायतका संरचनामा क्षति पुगेपछि मंगलबारदेखि विद्यालय बन्द थियो ।
पहिरोले भत्किएको भवन वरिपरि नजान विद्यार्थीलाई सूचित गर्दै शुक्रबारको अभिभावक भेलाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेर पढाइ सुरु गरिएको प्रधानाध्यापक हरिषचन्द्र बटालाले बताए । 'पढाइ छुट्ने भएकाले चौरमै बसालेर भए पनि पढाउने निर्णय भएको छ,' उनले भने, 'विद्यालय पहिरोको जोखिममा रहेकाले ठाउँ हेरेर अन्यत्र सार्ने छलफल भएको छ ।'
कक्षा १२ सम्म पढाइ हुने शान्ति माविको पछाडिबाट पहिरो र विद्यालयमुनि सडक खन्दा विद्यालय जोखिममा रहेको छ । स्थानान्तरणका लागि पालिकामा पनि छलफल हुने गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दुर्गालाल न्यौपानेले बताए ।
पहिरोले बन्द विद्यालय खुलेकामा खुसी लागेको कक्षा १० की निशा विश्वकर्माले बताइन् । विद्यालयमा ४ सय विद्यार्थी रहेकामा आइतबार २ सय ५० उपस्थित भएको विद्यालयले जनाएको छ ।
