खत्री बार्दलीबाट करिब ९ फिट तल खसेपछि कर्णाली अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
सल्यान — सल्यानमा घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका ४ झ्याङ्गखानी घर भएका ५६ वर्षीय दयनबहादुर खत्रीको आफ्नै घरको बार्दलीबाट लडेर मृत्यु भएको हो ।
बार्दलीबाट लडेर करिब ९ फिट तल खसेका खत्रीको टाउको, मुख लगायत शरीरका अन्य भागमा चोट लागेको र उपचारको लागि कर्णाली अस्पताल श्रीनगरमा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
उनका अनुसार शुक्रबार राति करिब १ बजेतिर खत्री बार्दलीबाट लडेका थिए । खत्रीको शव अहिले कर्णाली अस्पताल श्रीनगरमा रहेको उनले जानकारी गराए ।
खत्री रातीको समयमा किन बाहिर निस्केका थिए भन्ने बारेमा खुल्न नसकेको र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
