यसपालि पनि बँदेलले मकैबालीमा क्षति पुर्याएपछि २ सयभन्दा बढी किसान प्रभावित भएका छन् ।
What you should know
सल्यान — जंगली जनावर बँदेलले जिल्लाका विभिन्न पालिकामा लगाइएको मकैबाली नष्ट गरेपछि किसान चिन्तामा परेका छन् ।शारदा नगरपालिका-५ रानीकोट, ६ को सापमारा, ७ को ओखरेनी तथा बन्गाड कुपिण्डे नगरपालिका-१२ को निगालचुला, ६ को आमखोली, कुमाख गाउँपालिका-५ को कालागाउँ, ६ को बडागाउँ, छत्रेश्वरी गाउँपालिका-२ खोरबारे लगायतका ठाउँमा बँदेलले क्षति पुर्याएको हो ।
कपुरकोट गाउँपालिकाको विभिन्न वडा र कालिमाटी गाउँपालिका-१ लक्ष्मीपुर आसपासका क्षेत्रमा पनि मकैबाली नष्ट भएको छ ।विभिन्न पालिकामा गरी तीन सय रोपनीभन्दा बढी जग्गामा लगाएको मकैबाली बँदेलले स्वाहा पारेको हो ।
विगतका वर्षमा जस्तै यसपालि पनि बँदेलले मकैबालीमा क्षति पुर्याएपछि २ सयभन्दा बढी किसान प्रभावित भएका छन् । मकैबाली उत्पादन गरेर वर्षमा चार महिना जीविकोपार्जन गर्दै आएका जिल्लाका किसान अब कसरी घर खर्च चलाउने भन्ने पिरलोमा छन् ।
दुई रोपनीमा लगाएको मकै घोगा लागेको अवस्थामा बँदेलले स्वाहा पारेको छत्रेश्वरी-२ खोरबारेका किसान बालाराम ओलीले बताए । बथानमा आउने बँदेलले गाउँले सबैको मकैमा क्षति पुर्याएको उनले बताए । ‘बँदेलबाट मकैबाली जोगाउन दिनभर पहरा दिँदै आएका छौं तर रातमा बस्न सक्दैनौं,' उनले भने, 'हुल बाँधेर बँदेल राति आउँछन् । बिहान पुग्दा सबै सखाप बनाइसकेको हुन्छ ।'
बन्गाड कुपिण्डे-१२ निगालचुलाका वडाध्यक्ष लालबहादुर घर्तीले बँदेलले चौर र भदालेमा ३५ किसानको ५० रोपनीभन्दा बढी जग्गामा लगाएको मकै पूर्ण रुपमा स्वाहा पारेको बताए । मकैबाली बचाउनका लागि बँदेललाई लखेट्दा तीन जनालाई घाइते बनाएको उनको भनाइ छ ।
कुमाख गाउँपालिकाकी कृषि शाखा अधिकृत सुसन गौतमले वडा नं ५ र ६ मा बँदेलले धेरै किसानको मकैबाली क्षति पुर्याएको बताइन् । बँदेलले कति क्षति पुर्यायो भनेर मुचुल्का उठाउन पालिकाबाट टोली घरघर पुग्ने तयारी गरेको उनको भनाइ छ ।
छत्रेश्वरी गाउँपालिकाका कृषि प्राविधिक गणेश भण्डारीले केही स्थानबाट किसानले बँदेलले मकैबाली सखाप पारेको जानकारी गराएका भए पनि निवेदन भने कसैले नदिएको बताए । बाली क्षति पुर्याएको जानकारी आएपछि प्राविधिक टोली किसानकहाँ जाने तयारी गरेको उनको भनाइ छ ।
डिभिजन वन कार्यालय सल्यानका प्रमुख तेकबहादुर रावलले जंगली जनवारले बाली क्षति पुर्याएमा १० हजार राहत उपलब्ध गराउने भए पनि अहिलेसम्म शारदा नगरपालिका-५ का तीन जनाले मात्र निवेदन दिएका बताए ।
