जंगली च्याउ खाँदा सल्यानमा ६ जना बिरामी

जंगलबाट ल्याएको विषालु च्याउ खाँदा त्रिवेणी गाउँपालिकाका छ जना बिरामी परेका छन्, जसमा एकै परिवारका सदस्य छन्।

भाद्र ५, २०८२

विप्लव महर्जन

6 sick in Salyan after eating wild mushrooms

सल्यान — जंगली विषालु च्याउ खाएर सल्यानमा तीन घरका ६ जना बिरामी भएका छन् ।

जंगलबाट ल्याएको च्याउ खाँदा जिल्लाको त्रिवेणी गाउँपालिका १ काभ्रा घर भएकी २९ वर्षीया देवी बोहरा, उनकी आमा ७७ वर्षीय हर्कली राङ्गमगर, काभ्राकै ५६ वर्षीया पवि बोहरा, उनकी १५ वर्षीया छोरी पवित्रा बोहरा, छोरा २१ वर्षीय लीलाराम बोहरा र शारदा नगरपालिका ४ साईलाकम्तकी पवित्रा बस्नेत बिरामी परेका हुन् ।

बिरामी परेका सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ । बिरामी परेका सबैले बुधबार दिउँसो जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका थिए । च्याउ खाएका सबैलाई बान्ता हुने , छिनछिनमा दिसा लाग्ने, ज्वरो आउने, पेट दुख्ने समस्या देखिएको थियो । 

बिरामी परेका सबैको अवस्थामा सुधार आएको जिल्ला अस्पताल सल्यानमा एमडिजिपी डाक्टर तथा स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त प्रमुख बुद्धिनाथ शाहले बताए । सल्यानमा जंगली च्याउ खाएर बिरामी अस्पतालमा उपचार गर्न आइरहने गरेका उनले जानकारी गराए । 

जंगलमा पाइने अधिकांश च्याउ विषालु हुने र जसका कारण ज्यान जान सक्ने भएकाले जिल्लावासीलाई च्याउ नखान आग्रह गरेका छन् ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully