स्याउको ग्लुकोज स्तर १७ प्रतिशत पुगेपछि जिल्ला समन्वय समितिले निर्यातको लागि खुला गर्ने निर्णय गरेको हो।
What you should know
जुम्ला — गत साउन २७ गते काँचो स्याउ टिपेर निर्यात हुन लागेको भन्दै प्रहरी चौकी उर्थुचौताराले बरामद गरेर पातारासी गाउँपालिकामा बुझाएको स्याउको निर्यातका लागि फुकुवा भएको छ ।
जिल्ला समन्वय समितिमा बसेको सर्वपक्षीय बैठकले यही भदौ २ गतेदेखि स्याउ निर्यात गर्न सिफारिस दिने निर्णय भएसँगै बरामद गरेर स्टोर गरिएको स्याउ निर्यातका लागि फुकुवा गरिएको हो ।
प्रहरीले २८ कार्टुन स्याउ बरामद गरेको थियो । किसान र ब्यापारीले असार पाक्ने स्याउ भन्दै लुकिछिपी निर्यात गर्न लागेका थिए । यसअघि जुम्लाका आठवटै स्थानीयतहले भदौ १५ गतेसम्म स्याउको संकलन र निर्यात गर्न नपाउने गरेर सूचना जारी गरेका थिए ।
तर स्याउमा रंग आइनसके पनि तीजको अवसरमा सहरमा पुर्याउनुपर्ने भन्दै भदौ २ गतेदेखि नै स्थानीय तहका कृषि विकास शाखाले सिफारिस दिन थालेका छन् । मंगलबार कृषि विकास कार्यालय जुम्लाका प्रमख रामभक्त अधिकारी नेतृत्वको प्राविधिक टोली पातारासी पुगेर बरामद गरिएको स्याउको गुणस्तर चेक गरेको थियो ।
पहिले ग्लुकोजको मात्रा ९ प्रतिशत मात्रै थियो । हाल जाँच गर्दा १७ प्रतिशत पुगेको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपकसिंह धामीले जानकारी दिए ।
सामान्यतया १० प्रतिशत भन्दा माथि ग्लुकोजको मात्र भरिएपछि स्याउ संकलन र निर्यातका लागि योग्य मानिन्छ । १० प्रतिशत भन्दा तल ग्लुकोजको मात्र भएमा स्याउ स्वतः काँचो ठहरिन्छ । बरामद गरिएको स्याउ ब्यापारी हरिप्रसाद देवकोटाको थियो ।
सूचना अधिकारी धामीले भने, ‘स्याउको चेकजाँच गरेर ब्यापारी देवकोटालाई बुझाइएको छ । यो स्याउ जिल्ला बाहिर निर्यातको लागि समेत योग्य छ ।’ पहिले अमिलो र टर्रो स्वाद दिने स्याउ झण्डै एक हप्ता स्टोर गरेपछि गुलियो र स्वादिलो बनेको थियो ।
अहिले जिल्लाका आठवटै स्थानीयतहले स्याउ निर्यातको सिफारिस दिन थालेपछि स्याउ टिप्ने र खरिद गर्ने ब्यापारीको चहलपहल बढेको छ ।
