कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पीडितबीच सहमति जुट्यो, ४ दिनपछि परिवारले बुझे शव

आफन्तजनले डिकेशनाथको अप्रेसनमा संलग्न चिकित्सकमाथि कारबाही हुनुपर्ने, परिवारलाई राहत र क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शव बुझ्न मानेका थिएनन् ।

भाद्र ३, २०८२

डीबी बुढा

An agreement was reached between the Karnali Institute of Health Sciences and the victim, after 4 days the family found the body

What you should know

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत शनिबार उपचारका क्रममा ज्यान गुमाएका हिमा गाउँपालिका-३ का १७ वर्षीय डिकेशनाथ योगीको शव चार दिनपछि आफन्तले बुझेका छन् । सोमबार दिनभरको छलफलपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मृतकका आफन्तबीचमा सहमति जुटेपछि मंगलबार बिहान परिवारले शव बुझेका हुन् ।

आफन्तजनले डिकेशनाथको अप्रेसनमा संलग्न चिकित्सकमाथि कारबाही हुनुपर्ने,परिवारलाई राहत र क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शव बुझ्न मानेका थिएनन् ।  घटना छानबिनका लागि जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनेको थियो । समितिले तिन दिनभित्र प्रतिबेदन बुझाउने समय तोकिएको थियो । तर मृतकका आफन्त, प्रतिष्ठान र छानबिन समितिबीच सहमतिको टुंगोमा पुगेको छानबिन समितिका संयोजक आचार्यले जानकारी दिए । 

'आन्तरिक रुपमा आपसी समझदारी बनेको छ,' प्रमुख आचार्यले भने, ‘अहिले यो सहमति बाहिर भन्न आवश्यक छैन । सहमतिप्रति परिवार सन्तुष्ट भएर नै शव बुझेका छन् । ’ 

प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. पुजनकुमार रोकायाले परिवारले शव बुझेर लगेको बताए । 'अस्पतालमा उपचारका क्रममा ज्यान गुमाउनुपर्ने अवस्था दुःखद थियो,' उनले भने, ‘तर सबै मिलेर मृतक परिवारको पीडामा मलहम लगाउने सहमति बनेको छ ।’

सामान्य पेट दुखेर गत जेठ २४ गते अस्पताल भर्ना भएका डिकेशनाथको लगातार २५ र २६ गते अप्रेसन गरिएको थियो । उनी झन्डै दुई महिनादेखि अस्पतालमा थिए ।

प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले मृतक परिवार, कर्णाली प्रतिष्ठान र छानबिन समितिबीचको आपसी समझदारीबमोजिम शव बुझेको बताए । उनले भने, ‘डिकेशनाथ मृत्यु प्रकरणको छानबिनका लागि समितिलाई तीन दिनको समय दिइएको थियो । आपसमा सहमति भइसकेपछि प्रतिवेदन बुझाउनु परेन । अब समितिले समग्र अस्पताल व्यवस्थापन, सीमा र समस्याका बिषयमा छानबिन गर्नुपर्ने देखिन्छ ।’ 

परिवारले मंगलबार नै डिकेशनाथको दाहसंस्कार गर्ने जनाएको छ । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully