पहिरोले ठाउँ–ठाउँमा कर्णाली राजमार्ग अवरुद्ध

कालिकोटको गगने खोला र अन्य स्थानमा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू प्रभावित भएका छन्।

भाद्र १, २०८२

तुलाराम पाण्डे

Landslide blocked Karnali highway in places

कालिकोट — शनिबार रातिदेखिको पहिरोले ठाउँ–ठाउँमा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । वर्षासँगै कर्णाली राजमार्गका चार ठाउँमा पहिरो र कर्णाली करिडोरको फुगाड खोला बढेपछि सडक अवरुद्ध भएको हो ।

पहिरोले कर्णाली राजमार्गको कालिकोटको गगने खोला, बिहानी, दैलेखको खिडकी ज्यूला, जुम्ला र कालिकोटको सिमाना नाग्मा नजिकै सिँजा हुँदै मुगु जाने सडक अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख टेक वहादुर रावतले बताए ।

‘दैलेखमा हिजो साँझ देखि अवरुद्ध छ,’ उनले भने, ‘कालिकोटको गगने र बिहानीको पहिरो हटाउन मेसिन गई सकेको छ ।’

Landslide blocked Karnali highway in places

उनका अनुसार रातिदेखिको अविरल वर्षाले कर्णाली करिडोर अन्तर्गत पर्ने रास्कोट र पचाल झरनाको बीचमा पर्ने फुगाड खोला बढेकाले मोटर साइकल र साना गाडी तर्न सकेका छैनन् । उनले पानी रोकिएपछि सडक खुल्ने जानकारी दिए ।

पहिरोले सडक अवरुद्ध भएपछि कालिकोट हुँदै सुर्खेत जाने गाडी ठाउँ ठाउँमा रोकिएका छन् ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully