प्राविधिक जनशक्ति र आवश्यक उपकरण अभावका कारण डायलासिस सेवा रोकिएको थियो ।
What you should know
काठमाडौँ — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दुई वर्षपछि डायलसिस सेवा सुरु भएको छ । प्राविधिक जनशक्ति र आवश्यक उपकरण अभावका कारण डायलासिस सेवा रोकिएको थियो ।
मुगुको खत्याड गाउँपालिका-२ की जीरकला बियारको पहिलो डायलसिस भएको हो । 'आर्थिक अभाव थियो ।मिर्गौलाको उपचार जुम्लामा हुन्न कि भन्ने अन्योल थियो,' बियारले भनिन्, ‘पहिलो डायलासिस सेवा लिन पाउँदा निकै उत्साहित छु ।’ उनले यो सेवालाई निरन्तर अघि बढाउन समेत उनले माग गरिन् ।
पहिले डालयसिस गर्न महँगो जहाजभाडा तिरेर नेपालगन्ज, काठमाडौंसम्म जानुपर्ने बाध्यता थियो । अब जुम्लामै सुरु हुँदा राहतको महसुस भइरहेको बिरामीहरुले बताएका छन् ।
कर्णालीमा न मिर्गौला रोगीका लागि औषधि उपचार थियो, न त डायलसिस सेवा नै । 'बिरामीहरु रोग थन्काएर बस्नु परिरहेको थियो,' स्थानीय परीलाल थापाले भने, ‘अहिले औषधि उपचार पनि छ । डायलसिस सेवा पनि सुरु भइसकेको छ । अब निरन्तर सेवाको खाँचो मात्र छ ।’
अब कर्णाली प्रदेशसहित पश्चिम नेपालका मिर्गौलापीडितले डायलसिसका लागि महँगो खर्च गरेर बाहिर जानु नपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकी नर्सिङ डाइरेक्टर सविना थापाले डायलसिस सेवाले कर्णालीवासीले राहतको अनुभूति गर्ने बताइन् ।
तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जुम्लामा २०८० भदौ १४ गते डायलसिस सेवाको उद्घाटन गरेका थिए । उनले उद्घाटन गरे पनि सेवा सुरु हुन सकिरहेको थिएन । स्वच्छ पानीको पहुँच पर्याप्त रुपमा नपुगेका कारण कर्णालीमा मिर्गौलाका बिरामीको संख्या धेरै भएको चिकित्सकहरुको भनाइ छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सहप्रध्यापक डा. पुजकुमार रोकायाले डायलसिस सेवा निरन्तर रुपमा चल्ने बताए । उनले भने, ‘पहिले जनशक्ति, औषधि, उपकरणबीचको तालमेल मिलेको थिएन । अहिले सबै तयारी पूरा भएर सेवा सुरु भएको छ, अब रोकिँदैन ।’
यहाँ डायलसिस गर्न ४ वटा मेसिन तयारी हालतमा रहेका छन् । दुई मेसिन सञ्चालनमा ल्याएर सेवा प्रदान भइरहेको छ ।
