पत्रकार महासंघ रुकुमपश्चिमको भवन प्रयोगविहीन, सम्पर्क कार्यालयमा तालाबन्दी  

मुसिकोट–१ कै खलंगा बजारमा एउटा निजी घरको कोठा भाडामा लिएर महासंघको सम्पर्क कार्यालय बनाइएको छ । यो कार्यालयमा पनि गत २०८१ चैत ५ गतेदेखि तालाबन्दी गरिएको हो ।

श्रावण ३०, २०८२

महेश केसी

The building of the Federation of Journalists in Rukumpaschim is unused, the contact office is locked

What you should know

रुकुम पश्चिम — नेपाल पत्रकार महासंघ रुकुमपश्चिम जिल्ला शाखाको भवन बनेको करिब ७ वर्ष भैसक्दा पनि प्रयोगमा आउन सकेको छैन । मुसिकोट–१ मा निर्माण गरिएको कार्यालय भवन प्रयोगमै नआई जीर्ण हुँदै जान थालेको छ । खलंगा बजारमा रहेको सम्पर्क कार्यालयमा भने विभिन्न माग राख्दै पत्रकार संगठनहरुले ६ महिनादेखि ताला लगाएका छन् । 

मुसिकोट–१ चन्दनाथ टोलमा तत्कालीन अध्यक्ष गणेश विकको नेतृत्वमा २०७३ सालमा महासंघको भवन निर्माण गरिएको थियो । उक्त भवन कुल १४ लाखमा निर्माण गरिएको हो । तर भवन निर्माणबापत आफूले पाउनुपर्ने सम्झौताअनुसारको रकममध्ये ८ लाख अहिलेसम्म नपाएको निर्माण व्यवसायी पूर्णबहादुर विकले गुनासो गरेका छन् । 

भवन निर्माणको विषयमा तत्कालीन अध्यक्ष विकको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा उजुरीसमेत परेपछि यो विषय झन् लम्बिएको थियो । अख्तियारमा परेको मुद्दा टुंगिसकेको र भवन सम्बन्धित सबै विषय पार लागिसकेको दाबी तत्कालीन अध्यक्ष विकले गरेका छन् । 

वर्तमान अध्यक्ष गोपाल रेग्मीले भवन निर्माणको लेनदेनको विषय अब तत्कालीन अध्यक्ष र निर्माण व्यवसायी बिचको भएको भन्दै महासंघले भवन प्रयोग गर्न आवश्यक पहल गरिरहेको बताएका छन् । 

मुसिकोट–१ कै खलंगा बजारमा एउटा निजी घरको कोठा भाडामा लिएर महासंघको सम्पर्क कार्यालय बनाइएको छ । यो कार्यालयमा पनि गत २०८१ चैत ५ गतेदेखि तालाबन्दी गरिएको हो । 

The building of the Federation of Journalists in Rukumpaschim is unused, the contact office is locked

कांग्रेस निकट प्रेस युनियन, एमाले निकट प्रेस चौतारी र एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनले लगाएको ताला अहिलेसम्म जारी छ । ‘साधारण सदस्यको शुद्धिकरण तथा सिफारिस, जिल्ला शाखाभित्रको आर्थिक पारदर्शिता, समानुपातिक विज्ञापन प्रणाली र जिल्ला कार्यसमितिमा मनोनीत सदस्यमा वर्तमान शाखाले मनोमानी गरेको’ आदि मागहरु राखी कार्यालयमा ताला लगाइएको छ । 

कार्यालयको ताला खोल्ने विषयमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका जिल्ला अध्यक्ष रेग्मीले सर्वपक्षीय छलफल गरेको दाबी गर्दै हालसम्म निकास ननिस्केको बताएका छन् । ‘छलफल अन्तिम चरणमा पुगेको छ । अबको केही दिनमा नै कार्यालयको ताला खुल्छ र महासंघका गतिविधिले निरन्तरता पाउँछ,’ उनले भने ।

कार्यालयमा लगाएको ताला खोल्ने विषयमा प्रेस युनियनकी अध्यक्ष समित्रा केसीले पटक–पटक छलफल भए पनि त्यसले परिणाम दिन नसकेको भन्दै आफूहरु चाँडै यो विषयमा निष्कर्षमा पुग्ने बताइन् । समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष भरत चन्दले अरु विषयमा कुरा मिले पनि सदस्यता शुद्धिकरणका विषयमा मात्रै कुरा मिल्न बाँकी रहेको भन्दै केही दिनभित्र टुंगो लाग्ने बताएका छन् । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully