राउचेमा स्टिल पुल बनेपछि बालबालिका र अभिभावकलाई राहत, अब सुरक्षित विद्यालय यात्रा सम्भव भएको छ।
What you should know
सल्यान — बन्गाड खोलामा स्टिल पुल बनेपछि त्रिभुवन जनता मावि च्युरामा पढ्ने बालबालिकालाई धेरै सहज भएको छ । विगतमा वर्षाको समयमा खोला बढ्दा बन्गाड कुपिन्डे नगरपालिका राउचेका बालबालिका किनारबाटै जोखिम मोलेर आउजाउ गर्थे ।
राउचेका सयभन्दा बढी विद्यार्थी वर्षाको समयमा ज्यानको जोखिम मोलेर बन्गाड खोला पार गरी पढ्न जान बाध्य थिए ।
विद्यार्थीकै सहजताका लागि पूर्वाधार विकास कार्यालय सल्यानले आर्थिक वर्ष २०८१/०८२ मा ५२ लाख रकम विनियोजन गरेर झन्डै ५० मिटर लामो रहेको स्टिल पुल निर्माण गरेको थियो । पुल बनेपछि राउचेका बालबालिका अहिले वर्षाको समयमा पनि नियमित विद्यालय जान पाएका छन् ।
स्टिल पुल बनेपछि विद्यार्थी मात्र नभई स्थानीयलाई समेत सहज भएको स्थानीय तथा पुल निर्माण समितिका अध्यक्ष नीमराज सुनारले बताए । ‘वर्षाको समयमा साउन र भदौ दुई महिना बन्गाड खोलामा पानीको सतह उच्च हुने भएपछि राउचेका अभिभावक छोराछारीलाई विद्यालय छाड्न खोलासम्म आउने गर्थे । अभिभावक आउन नभ्याएको बेला स्थानीयले स–साना बालबालिकालाई बोकेर खोला तराउने गर्थे । अहिले त्यस्तो छैन । ठूलादेखि साना बालबालिका पुल तरेर सजिलै विद्यालय आउजाउ गर्छन्,’ उनले भने ।
विगतमा खोला बढेका बेला घर फर्कन बाध्य हुँदा पठनपाठनबाट वञ्चित हुने राउचेका बालबालिका अहिले नियमित विद्यालय गएर पठनपाठन गर्न पाएका स्थानीय सुशीला विक बताउँछिन् । राउचेबाट दैनिक सयजति विद्यार्थी पुल तरेर विद्यालय जाने गरेका उनको भनाइ छ ।
स्टिल पुल बनेपछि गत वर्षजस्तो बालबालिकालाई आधा बाटोसम्म छाड्न जानुपर्ने बाध्यताको अन्त्य भएको राउचेका अभिभावक रेसमबहादुर खत्रीले बताए ।
