डोल्पामा छलगार्ड खोलाको बाढीले भेरी थुनियो, विद्युत् नहर, घट्ट र ट्र्याक्टर बगे 

त्रिपुरासुन्दरी मन्दिरसहित तटीय बस्ती कटानको जोखिममा

श्रावण ३०, २०८२

रामचन्द्र न्यौपाने

In Dolpa, the flood of Chalgard river blocked the river, electricity canal, ditch and tractor were washed away

What you should know

डोल्पा — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा रहेको छलगार्ड खोलाको बाढीका कारण त्रिपुराकोटमा रहेको ठूलीभेरी नदी नै थुनिएको छ ।

बिहीबार बेलुकीको समयमा खोलामा आएको बाढीले शुक्रबार पनि भेरी नदी आंशिक रूपमा थुनिएको हो ।

खोलाले ल्याएको ढुंगा र माटोले भेरी नदी नै आंशिक थुनिएपछि तटीय क्षेत्रको त्रिपुराकोट बजार क्षेत्रको तल्लो भाग, लोँका बस्ती, प्रसिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिरको तल्लो भाग र स्थानीयका खेतबारीसमेत जोखिममा परेकाछन् ।

बिहीबारको बाढीपछि प्रहरी चौकी त्रिपुराकोटले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क हुन आग्रह गरेको छ ।

बाढीका कारण छलगार्ड लघु जलविद्युत्‌को करिब दुई सय मिटर बाँध भत्किएपछि वडा नं १ मा पर्ने त्रिपुराकोट, करेलीकााडा र रल्लीका तीन सय पचास घरधुरी विद्युत् सेवाबाट बञ्चित भएका छन् ।

लोँका बस्तीलाई जोड्ने काठेपुल र दुईवटा पानीघट्टको बाँध पूर्ण रूपमा बगाएको त्रिपुराकोटका स्थानीय युवा पूर्ण सार्कीले जानकारी दिए ।

यससँगै एक्कासि आएको भीषण बाढीले भलायडाँडामा रहेको करिब पाँच रोपनी क्षेत्रमा लगाइएको सिमीखेत, दुई कोठे गाइगोठ र एउटा ट्र्याक्टर समेत बगाएको उनको भनाइ छ ।

In Dolpa, the flood of Chalgard river blocked the river, electricity canal, ditch and tractor were washed away

त्रिपुराकोटमा रहेको सार्की टोललाई बाढी र पहिरोबाट जोगाउन लगाइएको तटबन्ध समेत भत्काएको छ । 

प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायब निरीक्षक यामबहादुर बस्नेतले बिहीबारको बाढीले भेरी थुनिनुका साथै स्थानीयको जग्गा समेत बगाएले प्रहरीले जोखिम क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको बताए ।

‘बिहीबार छलगार्ड खोलामा ठूलो बाढी आएको थियो,जसका कारण छलगार्ड लघु जलविद्युत्‌को नगर, करेलीकाँडा जोड्ने विद्युत् लाइनको एउटा पोल र घट्ट बगायो,’ सई बस्नेतले भने, ‘आज बहाव त घटेको छ, उक्त खोलाले ल्याएको ठूलाठूला ढुङ्गाहरु भेरीको मूलमार्गमै रहेकाले आंशिक रूपमा भेरी थुनिएको छ, अझै जोखिम कायमै छ ।’

बाढीका कारण उक्त खोलामा बन्न लागेको पक्की पुलको दुवैतीरको पिल्लरमा समेत क्षति पुर्‍याएको बताइएको छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully