ठुलिभेरी नगरपालिका-३ मा पर्ने जिल्ला सदरमुकाम दुनैमा निर्माण भइरहेको पुल मूल्य अभिवृद्धि करसहित ४ करोड १७ लाख रुपैयाँमा बन्न लागेको भौतिक पूर्वाधार कार्यालय डोल्पाका प्रमुख टेक हिटानले कान्तिपुरलाई जानकारी दिए ।
What you should know
डोल्पा — डोल्पाको जिल्ला अस्पताल जोड्ने बेलिब्रिज पुल निर्माण अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको भौतिक पूर्वाधार कार्यालय डोल्पाबाट ठेक्का भई भेरी नदीमाथि निर्माण भइरहेको पुल निर्माण अन्तिम चरणमा पुगेको हो ।
ठुलिभेरी नगरपालिका-३ मा पर्ने जिल्ला सदरमुकाम दुनैमा निर्माण भइरहेको पुल मूल्य अभिवृद्धि करसहित ४ करोड १७ लाख रुपैयाँमा बन्न लागेको भौतिक पूर्वाधार कार्यालय डोल्पाका प्रमुख टेक हिटानले कान्तिपुरलाई जानकारी दिए । ‘बेलिब्रिज निर्माणको काम ९० प्रतिशतभन्दा धेरै सकिसकेको छ, पुलको दुवैतिरको ‘सल्याब’ हाल्नेमात्र काम बाँकी हो,’ उनले भने, ‘निर्माणको जिम्मा रिडार्क नेपालले लिएको हो, काम सुरु गरेको साढे पाँच महिनामै काम सम्पन्न भएको छ, कार्यालयको चासो, समन्वय र सक्रियता भयो भने छोटो समयमै धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण यो पुल बनेको छ ।’
सम्भवत: यो पुल डोल्पाकै लामो बेलिब्रिज भएको उनको भनाइ छ । यो पुल निर्माणपछि बेलिब्रिज निर्माण गर्न वर्षौं लाग्छ भन्ने मानसिकतालाई गलत सावित भएकाले डोल्पा जोड्ने भेरी करिडोर अन्तर्गतका दर्जनौं स–साना खोलानालाहरुमा बेलिब्रिज निर्माण गरेर बाह्रै महिना सिधा यातायात सञ्चालन गर्न सकिने उनको धारणा छ ।
पुलको निर्माणकार्य अन्तिम चरणमा पुगिसकेकाले अब छिट्टै औपचारिक रुपमा उद्घाटन गरेर सञ्चालन गरिने समेत बताइएको छ । जिल्ला सदरमुकामसम्म मोटरबाटो पुगेर पनि पुल नहुँदा दुर्गमजस्तै भएको जिल्ला अस्पताल अब भने यातायातको पहुँचमा सुगम हुने स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर सिजन रावलले बताए ।
‘पुल नहुँदा उपचारका लागि जिल्ला अस्पतालमा आउने बिरामीहरुले धेरै समस्या भोग्दै आएका छन्, बजारसम्म जिप वा एम्बुलेन्समा ल्याइन्छ, त्यसपछि करिब आधा घण्टा बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यता छ,’ उनले भने ।
‘बजारबाट अस्पतालसम्म पुग्ने बाटो साँघुरो भएकाले स्ट्रेचरमा बिरामै लैजानै गाह्रो छ, यस बिचमा अस्पताल नपुगेरै बाटोमै सुत्केरी भएका, जटिल अवस्थाका बिरामीले ज्यान गुमाएका थुप्रै उदाहारण छन् ।’ अब भने पुल सञ्चालनमा आएपछि बिरामीलाई धेरै सुविधा हुने डाक्टर रावलको भनाइ छ ।
