कालीकोटको थामकोटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सडक भासिएर भएको दुर्घटनामा दैलेख घर भएका चालक मानबहादुर सारु मगरको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख टेक बहादुर रावतले बताए।

श्रावण २९, २०८२

तुलाराम पाण्डे

Driver killed in truck accident at Thamkot in Calikot

कालीकोट — खाँडाचक्र नगरपालिका-२ थामकोटमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालगन्जबाट खाद्य, खुद्रा, ग्याँस तथा सिमेन्ट बोकेर आएको भे १ ख ४३२६ नम्बरको मालवाहक ट्रक बुधवार राति ८:३० बजे दुर्घटना भएको हो।

मान्म गाउँको मेयर खोलाबाट भित्र थामकोट जाने क्रममा सडक भासिएर भएको दुर्घटनामा दैलेख घर भएका चालक मान बहादुर सारु मगरको घटनास्थलमै मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख टेक बहादुर रावतले बताए।

'रातको समयमा सडकमा ट्रक लैजाँदा सडक भासिएर दुर्घटना भएको रहेछ,' डीएसपी रावतले भने, 'भित्री सडकमा सहचालक झरेर ढुङ्गा हाल्न झरेकाले बच्न सफल भएछन्। सडकबाट १ सय मिटर तल खसेको छ। ट्रकको समान पोखिएको छ।'

नेपालगन्जबाट खाँडाचक्र-२ का टक्क पाण्डेको खाद्य खुद्रा तथा सिमेन्ट र आफ्नो ग्यास बोकेर आएको ट्रक सामान धनीको घर पुग्ने बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद चौधरीले बताए।

उनका अनुसार ट्रक शुभकालिका-४ चौलागाईवाडाका भीमप्रसाद चौलागाईको हो। दुर्घटनास्थल कर्णाली राजमार्गबाट थामकोट गाउँ एक किमीको दूरीमा पर्छ ।

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully