कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रोकाया नियुक्त

चार महिनादेखि रिक्त रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा. पुजन रोकायाको नियुक्ति भएको हो।

श्रावण २८, २०८२

डीबी बुढा

Vice Chancellor of Karnali Institute of Health Sciences Dr. Appointed Rokaya

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपतिमा डा. पुजनकुमार रोकाया नियुक्त भएका छन् । उनी चौथो उपकुलपतिका रुपमा नियुक्त भएका हुन् ।

मंगलबार प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकायालाई उपकुलपतिका रुपमा नियुक्त गरेका थिए । गत चैत महिनामा तत्कालीन उपकुलपति डा. मंगल रावलको कार्यकाल सकिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पद रिक्त थियो । 

प्रतिष्ठानले चार महिना पनि उपकुलपति पाएको हो । डा. रोकाया दोस्रो प्रयासमा उपकुलपतिमा नियुक्त भएका हुन् । अघिल्लो कार्यकालमा उपकुलपति पदका लागि डा.  रोकायाको पनि दाबी थियो । प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्रीले नाम सिफारिस गर्दा पनि उनी उपकुलपति हुन सकेका थिएनन् ।

डा. रोकाया विगत १२ वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लामा हाडजोर्नी तथा नशारोग विशेषज्ञको रुपमा कार्यरत छन् ।  जि. एम. डी. मोर्डन पब्लिक हाई स्कुल जुम्लाबाट एसएलसी उत्तीर्ण डा. रोकायाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुर्गम कोटाबाट नाम निकालेर एमबीबीएस उत्तीर्ण गरेका थिए ।

डा. रोकायाले टिचिङ अस्पताल महाराजगञ्ज काठमाडौंबाट हाडजोर्नी तथा नशा रोगमा एमडी गरेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी तथा नशा रोग विभागमा विभागीय प्रमुख समेत रहेका डा. रोकाया प्रतिष्ठानको ईन्सटिच्युशनल रिभ्यु कमिटीमा लामो समय सदस्य सचिवको जिम्मेवारीमा थिए ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully