कर्णालीमा विपन्न तथा असहाय नागरिकलाई उपचार र यातायात खर्च

बेवारिसे, असहाय तथा विपन्न बिरामीहरूलाई यातायात खर्च उपलब्ध गराउने कार्यक्रमअनुसार कार्यक्रम कार्यान्वयन गरिएको सामाजिक विकासमन्त्री धनश्याम भण्डारीले जानकारी दिए ।

श्रावण २८, २०८२

तृप्ति शाही

Treatment and transportation expenses for poor and helpless citizens in Karnali

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले विपन्न तथा असहाय नागकिलाई स्वास्थ्योपचार र यातायात खर्च दिन थालेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सेवाग्राहीको भौगोलिक दूरीको आधारमा ५ देखि २० हजार रुपैयाँसम्मको खर्च उपलब्ध गराउने घोषणाअनुसार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

बेवारिसे, असहाय तथा विपन्न बिरामीहरूलाई यातायात खर्च उपलब्ध गराउने कार्यक्रमअनुसार कार्यक्रम कार्यान्वयन गरिएको सामाजिक विकासमन्त्री धनश्याम भण्डारीले जानकारी दिए । आर्थिक अभावले उपरचारका लागि अस्पताल जान नसक्ने वा उपचारपछि घर फर्कने पैसा नभएर अलपत्र पर्नेहरूको अवस्थालाई मध्यनजर गर्दै सरकारले चालु आर्थिक वर्षबाट यो कार्यको सुरुवात गरिएको बताए । 

कुनै पनि नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमले विपन्न र दुर्गमका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको उनले बताए । यस्तै मन्त्रालयले उपचारका क्रममा मृत्यु भई आर्थिक अभावमा धार्मिक संस्कार गर्न नसक्ने नागरिकका लागि शववाहन बापतको रकम पनि व्यहोर्ने भएको छ ।

यो रकम पाउन सम्बन्धित वडाको सिफारिस वा उपचार गरिएको अस्पतालले बेवारिसे, असहाय, विपन्न, यातायात खर्चको अभावले अस्पताल पुग्न वा अस्पतालबाट घर जान नसक्ने बिरामी सिफारिस गरेको हुनुपर्नेछ ।

अहिलेसम्म दुई जना नागरिकले यो सेवा लिइसकेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले यो कार्यक्रमको लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully