सडकमा पहिरो खसेपछि रारा तालको अवलोकन गर्न जाने पर्यटकहरूले ल्याएका सवारीसाधन अलपत्र परेका छन् ।
जुम्ला — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल जाने नाग्म-गमगढी सडकमा पहिरो झरेपछि यातायात सेवा ठप्प भएको छ। बिहान ८ बजे जुम्लाको हिमा गाउँपालिका-७ बागबजार नजिकै झरेको पहिरो अहिलेसम्म खुल्न सकेको छैन ।
सडकमा पहिरो खस्दा नाग्म गमगढी देखि फर्किने र रारा तालको अवलोकन गर्न जाने पर्यटकहरूले ल्याएका सवारीसाधन अलपत्र परेका छन् । सडकको माथिल्ला भागदेखि पहिरो झरेकोले सडक पुणरुपमा पुरिएको छ । सडक डिभिजन कार्यालयले सडक खुलाउन प्रयास भइरहेको जनाएको छ ।
कार्यालय प्रमुख दीपेन्द्रकुमार चौधरीले पहिरो पन्छाउन आवश्यक उपकरण र जनशक्ति परिचालन भइसकेको बताए । 'सडक छिटोभन्दा छिटो खुलाउने प्रयास भइरहेको छ,' प्रमुख चौधरीले भने, 'सबै जनशक्ति परिचालन भइसकेको छ । पहिरो पन्छाउने काम सुरु भइसकेको छ ।’
पहिरो गएको तीन घण्टासम्म पनि पन्छाउन नसक्ने भन्दै यात्रुहरूले आक्रोश पोखेका छन् । सामान्य पहिरो स्थानीय र सडकका कर्मचारीले पन्छाइसकेका छन् । ठुलो पहिरो हटाउन जेसिभीको प्रयोग भइरहेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, सडकका कर्मचारी र स्थानीय समेत सडक खुलाउन लागि परेका छन् ।
