बिहानी छरेगाडमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो, एक्स्काभेटरको सहयोगले सडक खुला भएपछि गाडी गन्तव्यतर्फ लागेका छन् ।
कालीकोट — पहिरोले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत सुर्खेत-जुम्ला सडकको मान्म बिहानी खण्ड ५ घण्टापछि खुलेको छ। सोमबार बिहान ७:३० देखि अवरुद्ध सडक दिउँसो १२:४० देखि सञ्चालन भएको कालीकोटका डीएसपी टेकबहादुर रावतले बताए ।
खाँडाचक्र नगरपालिका-५ मा पर्ने बिहानी छरेगाडमा पहिरो गएपछि जुम्ला र मुगुबाट सुर्खेत जान आएका गाडी रोकिएका थिए । रातिदेखि पानी परेकाले बिहान पहिरो गएर अवरुद्ध बनेको सडक खुलाउन सडक डिभिजन कार्यालय जुम्लाको पिलि बजारमा राखिएको एक्स्काभेटर झिकाएर बिहानीको पहिरो हटाएपछि रोकिएका सबै गाडी गन्तव्यतर्फ लागेका छन् ।
सोमबार बिहान ७ बजे बिहानी पुगे पनि पहिरोले सडक अवरुद्ध भएकाले सुर्खेत पुग्न ढिलो हुने पुगमालिका देवीको पूजा गरेर सुर्खेत फर्किन लागेका तिलागुफा-५ खल्लाका इन्द्रप्रसाद न्यौपानेले बताए । उनी बिहानीबाट बिहान ८ बजे हिँडेर आधा बाटोसम्म आएपछि आचार्य तरकारी पसलको बोलेरोमा मान्म पुगेका थिए।
