पहिरोले कर्णाली राजमार्गको बिहानी-मान्म खण्ड अवरुद्ध

खाँडाचक्र नगरपालिका-५ मा पर्ने बिहानी छरेगाडमा पहिरो गएपछि जुम्ला र मुगुबाट सुर्खेत जान आएका गाडी रोकिएका छन्।

श्रावण २६, २०८२

तुलाराम पाण्डे

Landslide blocked Bihani-Manm section of Karnali highway

कालीकोट — पहिरोले कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकको मान्म-बिहानी खण्ड तीन घण्टादेखि अवरुद्ध छ। सोमबार बिहान ७:३० मा गएको पहिरोले कर्णाली राजमार्गको कालीकोटको मान्म-बिहानी सडक खण्ड अवरुद्ध भएको हो।

खाँडाचक्र नगरपालिका-५ मा पर्ने बिहानी छरेगाडमा पहिरो गएपछि जुम्ला र मुगुबाट सुर्खेत जान आएका गाडी रोकिएका छन्। रातिदेखि पानी परेकोले बिहान पहिरो गएको कालिकोटका प्रहरी प्रमुख टेक बहादुर रावतले बताए।

'पहिरो हटाउन पिलिबाट जेसीभी मेसिन आइसकेको छ,' उनले भने, 'पहिरो हटाएपछि खुल्छ।' पहिरो हटाउन आधा घण्टा लाग्ने उनको भनाइ छ। तर सर्वसाधारण यात्रुहरूले भने बिहानदेखि डोजर आउँछ भनेपनि ढिलासम्म नआएको भन्दै गुनासो गरेका छन्। 

बिहानी सडक अवरुद्ध भएकोले जुम्लातर्फ जाने गाडी ताडी बजारमा रोकिएका छन्। वर्षा लागेयता पानी परेको दिन पहिरो झरेर कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ।

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully