कालिकोटमा आएको पहिरो पन्छाएर शनिबार बिहान ६ बजेबाट कर्णाली राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।
कालिकोट — लेदोसहितको पहिरोले शुक्रबार बेलुकीदेखि अवरुद्ध कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकखण्डको कालिकोटको गगने खोलाको सडक खुलेको छ।
पहिरो पन्छाउन शनिबार बिहान ६ बजेदेखि दुई वटा मेसिन (जेसीबी) लगाएर सडक सञ्चालनमा ल्याइएको हो।
कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतका अनुसार पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन गर्न बिहान दुई वटा मेसिन परिचालन गरिएको थियो। गगने खोलामा आएको लेदोसहितको पहिरो पन्छाएपछि एकतर्फी रूपमा सडक खुलेको उनले बताए।
सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै सुर्खेतबाट माथि आउँदै गरेका तथा कालिकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्लाबाट सुर्खेततर्फ आउजाउ गर्न रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन्।
